विद्युतीय दुर्घटनाको ‘बडीगार्ड’

Share News

जाने तुरुन्त, नजाने करेण्ट


विद्युत्बाट हुन सक्ने दुर्घटनाबाट जोगाउन मद्दत गर्ने प्रमुख विद्युतीय उपकरण हुन्– मिनिएचर सर्किट ब्रेकर (एमसीबी) र मोल्डेड केस सर्किट ब्रेकर (एमसीसीबी) । यी उपकरणले विद्युतीय तारमा हाई भोल्टेज प्रवाह भएमा त्यसको असरबाट जोगाउन सहयोग गर्छन् । तारमा हाई भोल्टेज प्रवाह भएमा विद्युत् शर्ट भएर आगलागी हुन सक्छ । यसरी हाई भोल्टेज विद्युत् प्रवाह भएमा एमसीबी तथा एमसीसीबीले यसलाई रोक्ने गर्छन् । नेपालमा उपभोक्तालाई एमसीबी तथा एमसीसीबीबारे पर्याप्त जानकारी नभएकाले यसको गलत प्रयोग भइरहेको नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष महेन्द्रकुमार राठीले बताए । ‘नीक इलेक्ट्रो टेक मेलामा यस्ता उपकरणको आवश्यकता, प्रभावकारिता र सावधानीबारे उपभोक्तालाई जानकारी दिन हामी धेरै हदसम्म सफल भयौं,’ उनले भने ।

के हो एमसीबी ?
‘मिनिएचर सर्किट ब्रेकर’लाई छोटकरीमा एमसीबी भनिएको हो । ओभरलोड तथा शर्ट सर्किटजस्ता विद्युतीय समस्याका कारण तार तथा अन्य विद्युतीय उपकरणमा हुन सक्ने क्षति रोक्ने वा न्यूनीकरण गर्न यसको प्रयोग गरिएको हुन्छ ।

आधुनिक ‘कञ्ज्युमर युनिट’ (विद्युत् नियन्त्रण तथा वितरणमा सघाउने उपकरण)मा यसको जडान गरिन्छ । कुनै समस्या आई एमसीबी रिसेट (पुनः सुचारु) गर्न यसमा रहेको स्विच ‘फ्लिक’ गरे वा बटन थिचे पुग्छ । फ्युजमा जस्तै तार फेर्नेलगायत झन्झटिलो तथा जोखीमपूर्ण कार्य यसमा गर्नुपर्दैन । त्यसैले पनि फ्युजको विकल्पका रूपमा एमसीबीको प्रयोग बढ्दै गएको एसईभी इण्टरप्राइजेजका निर्देशक मनोजकुमार वर्णवालले बताए । विद्युतीय उपकरणमा सुरक्षा संवेदनशील मानिने भए तापनि उपभोक्ता भने अझै पनि सस्ता र गुणस्तरहीन उपकरणप्रति आकर्षित हुनु चिन्ताको विषय रहेको उनको भनाइ छ । ‘यस्ता उपकरण खरीद गर्दा उपभोक्ताले मूल्यमा भन्दा गुणस्तरमा बढी ध्यान दिनुपर्छ,’ उनले भने ।

विद्युत् प्रसारण प्रणालीमा शर्ट सर्किट वा ओभरलोड हुँदा एमसीबी स्वचालित रूपमा बन्द हुन्छ । यो प्रक्रियालाई ‘ट्रिपिङ’ भनिन्छ । उदाहरणका लागि, ६ एम्पियर क्षमताको विद्युत् वितरण हुनुपर्नेमा १० एम्पियर भएमा एमसीबीले  त्यसलाई रोकिदिन्छ ।

एमसीबीलाई यसमा प्रयोग गरिने थर्मल डिभाइस (तापका आधारमा चल्ने उपकरण)का आधारमा ‘टाइप बी’, ‘टाइप सी’ र ‘टाइप डी’ गरी तीन किसिममा विभाजन गरिएको हुन्छ । ओभरलोड हुँदा बिजुलीको सञ्चार रोक्ने (ट्रिपिङ) एमसीबीको क्षमता यसैले निर्धारण गर्छ । त्यसैले, आफ्नो लागि आवश्यक क्षमतासहितको एमसीबी छनोट गर्नुपर्दछ । यसले अनावश्यक ट्रिपिङका कारण हुने समस्याबाट जोगाउँछ । यसको छनोटमा विशेषज्ञको सल्लाह–सुझाव लिनुपर्ने सी एण्ड एस इलेक्ट्रिकका व्यवस्थापक (इण्टरनेशनल बिजनेश) जतिन कट्याल बताउँछन् । ‘एमसीबी छनोट महत्वपूर्ण कार्य हो,’ उनले भने, ‘त्यसैले, यसमा कुनै किसिमको त्रुटि हुनु हुँदैन ।’ तीनै प्रकारका एमसीबीमा ‘म्याग्नेटिक फल्ट प्रोटेक्शन’ प्रणालीको प्रयोग गरिएको हुन्छ । यो प्रणालीले निर्धारित क्षमताभन्दा बढी विद्युत् सञ्चार (ओभरलोड) हुँदा एमसीबीलाई १–१० सेकेण्डमा ट्रिप हुने क्षमता प्रदान गर्छ । एमसीबीको सर्किट रेटिङ (मापन) किलोएम्प्स (केए)मा गरिन्छ । यसले उपकरणको कार्यक्षमता कति छ भन्ने जानकारी दिन्छ । उदाहरणका लागि, घरायसी प्रयोजनमा उपयोग हुने एमसीबीको क्षमता ६ केए फल्ट लेभल रहेको हुन्छ । जब कि, औद्योगिक प्रयोजनका लागि साधारणतया १० केए फल्ट क्षमताको प्रयोग गरिन्छ ।

घरायसी, साना तथा मझौला व्यावसायिक प्रयोजनमा एकैपटक धेरै विद्युत् सञ्चारको आवश्यकता नपर्ने भएकाले साधारणतया ‘टाइप बी’ एमसीबीको प्रयोग गरिन्छ । तथापि, अस्थिर विद्युतीय सञ्चारका कारण समस्या देखिएमा उच्च क्षमताको टाइप बी वा टाइप सी एमसीबीको उपयोग गर्नु राम्रो हुन्छ । व्यावसायिक प्रयोजन तथा कलकारखानाका लागि टाइप सी एमसीबीको प्रयोग गर्नु उपयुक्त हुन्छ । यस्ता स्थानमा धेरै उपकरण एकैपटक सञ्चालनमा हुन्छन्, जसले गर्दा तारमा एकैपटक धेरै भोल्टेज प्रवाह हुँदा मेशिनरी पार्ट्स बिग्रनुका साथै जनधनको क्षेतिसमेत हुन सक्छ । यसबाट जोगाउन यस्ता स्थानमा टाइप सी एमसीबीको प्रयोग गर्नु उचित हुन्छ । त्यस्तै, टाइप डी एमसीबी भने विशेष किसिमका उद्योग, जहाँ एक्सरे तथा ट्रान्सफर्मर सञ्चालन गर्नुपर्ने हुन्छ, त्यहाँ प्रयोग गर्नुपर्छ ।

जुनसुकै एमसीबीको प्रयोग गरिए पनि यसको पूर्ण फाइदा लिन विद्युतीय अन्य सामग्रीसमेत उच्च गुणस्तरको हुन आवश्यक छ । साथै, यसको जडानमा समेत सम्पूर्ण प्रक्रिया पूरा गरेको हुनुपर्दछ । अन्यथा, यसले आवश्यकताअनुसारको सुरक्षा प्रदान नगर्न पनि सक्छ । त्यसैले, यी सामग्रीको प्रयोग गर्न तालीमप्राप्त प्राविधिकको सहयोग लिनुपर्छ । साथै, खरीदसमेत भरपर्दो विक्रेतामार्फत गर्नु आवश्यक हुने सम्बद्ध व्यवसायी बताउँछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।