विश्वकप फुटबल तालिकामा परिवर्तन, पहिलो खेल कतार र इक्वेडरबीच    

Share News

साउन २८, कतार । विश्वभरका फुटबल खेलप्रेमीहरूले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ । कतारमा आगामी मंसिर ५ गतेदेखि प्रारम्भ हुने फिफा वल्डकप २०२२ एक दिन अगाडि अर्थात् मंसिर ४ गतेदेखि हुने भएको छ ।     
     
निर्धारित मितिभन्दा एक दिन अगाडि उद्घाटन समारोह र उद्घाटन खेल प्रतियोगिता आयोजक देश कतारसँग हुने कार्यतालिकामा केही हेरफेर गरिएको अन्तरराष्ट्रिय फुटबल महासंघ (फीफा) ले घोषणा गरेको छ ।     
     
 मूल खेल तालिकाअनुसार मंसिर ५ गतेका लागि निर्धारण गरिएको सेनेगल र नेदरल्याण्डस्बीचको खेल सोही दिन हुनेछ तर उद्घाटन समारोह र हरेक चार वर्षपछि हुने विश्कप प्रतियोगिताको पहिलो खेल भने अब मंसिर ४ गते अपराह्न ७ बजे कतार र इक्वेडरबीच हुनेछ ।

यसअघि मंसिर ५ गतेका लागि सेनेगल र नेदरल्याण्डस् तथा कतार र इक्वेडरबीच स्पर्धा हुने कार्यक्रम निर्धारण भएको थियो ।     
     
फिफाले विश्कप फुटबल प्रतियोगितको परम्पराअनुसार खेल आयोजक राष्ट्र र डिफेन्डिङ च्याम्पियनबीच पहिलो स्पर्धा गराउने लामो समयदेखिको अभ्यासलाई सुनिश्चित गर्न पहिलो दिनको खेल तालिकामा केही परिवर्तन गरिएको स्पष्ट गरेको छ । बाँकी खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने पनि फीफाले बताएको छ । एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।