साउन ३०, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार दुई म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको छ । नेप्सेले एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको इकाई मूल्य समायोजन गरेको हो ।
यी दुई योजनाहरूले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको प्रतिफल प्रयोजनका लागि साउन ३१ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा नेप्सेले इकाई मूल्य समायोजन गरेको हो ।
एनएमबि हाइब्रिड फण्ड एल–१ को सोमवार कायम अन्तिम इकाई मूल्य रू. ११ दशमलव ८९ को आधारमा प्रस्तावित २१ दशमलव ०५३ प्रतिशत नगद लाभांशपछिको इकाई मूल्य रू. ९ दशमलव ७८ तोकेको हो । त्यस्तै नेप्सेले एनएमबि फिफ्टीको सोमवार कायम अन्तिम इकाई मूल्य रू. १२ दशमलव ६० को आधारमा २१ दशमलव ०५३ प्रतिशत नगद लाभांशपछिको मूल्य रू. १० दशमलव ४९ कायम गरेको छ ।
यस वर्ष हालसम्म प्रस्ताव गरेको म्युचुअल फण्डहरूको लाभांशमध्ये एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यी दुई योजनाको लाभांश सबैभन्दा बढी छ । गत आवमा एनएमबि हाइब्रिड फण्ड एल–१ ले २० प्रतिशत र एनएमबि फिफ्टीले ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।