७.८३ % लाभांश प्रस्ताव गरेकाे गुराँस लाइफले एक वर्षमा कमायो साढे १७ करोड नाफा 

Share News

भदौ १, काठमाडौं । गत आर्थिक वर्षमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू. १७ करोड ५१ लाखभन्दा बढी खुद नाफा गरेको छ ।

अघिल्लो आवमा रू. १२ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत आवमा ४४ दशमलव २७ प्रतिशत बढी खुद नाफा गरेको हो । कम्पनीले गत आवमा २७ दशमलव २३ प्रतिशत बढी आम्दानी गरेको छ भने ४ दशमलव ५७ प्रतिशत कम खर्च गरेको छ ।

कम्पनीले रू. २३ करोड ७२ लाखभन्दा बढी आम्दानी गर्दा रू. ६ करोड २० लाखभन्दा बढी मात्र खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८ करोड ४२ लाख ५० हजार छ ।

गत मंगलवार कम्पनीले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट कुल ७ दशमलव ८३ प्रतिशत लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीले ७ दशमलव ४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ मर्जरमा जाने प्रक्रियामा रहेका छन् । चौथो त्रैमाससम्म गुराँस लाइफको जगेडा कोषमा रू. ५८ करोड ७४ लाखभन्दा बढी सञ्चित छ भने जीवन बीमाकोषमा रू. १२ अर्ब ४५ करोडभन्दा बढी छ ।

कम्पनीले गत वर्ष रू. ३ अर्ब ८ करोडभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको छ भने रू. १ अर्ब ६६ करोडभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षभन्दा कम्पनीको कुल बीमा शुल्क आर्जन १६ दशमलव १३ प्रतिशत कम भएको छ भने कुल दाबी भुक्तानी रकम १४३ दशमलव ८६ प्रतिशत बढी भएको छ । यस कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ४० र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ७८ रहेको छ । 

वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।