पेचिङ (चीन) । चीनको बहुराष्ट्रिय प्रविधि तथा मनोरञ्जन कम्पनी टेनसेन्टको आम्दानी पहिलो पटक घटेको छ । चीनमा कोरोना भाइरसको महामारी बल्झिएसँगै संक्रमण नियन्त्रण गर्न गरिएको कडाई र घरेलु गेमिङ बजारमा कसिलो नियमनका कारण यस वर्षको दोस्रो त्रैमासमा कम्पनीकाे आम्दानी घटेको हो ।
कम्पनीले मंगलवार सार्वजनिक गरेको त्रैमासिक तथ्यांकअनुसार अप्रिल–जुन त्रैमासमा कम्पनीको आम्दानी १ खर्ब ३४ अर्ब ३ करोड युआन रहेको छ । यो गत वर्षको सोही अवधिको भन्दा ३ प्रतिशत कम हो । कम्पनीको त्रैमासिक आम्दानी गत वर्षको सोही अवधिमा घटेको यो पहिलो पटक भएको बताइएको छ । सो अवधिमा कम्पनीको मुनाफा पनि गत वर्षको सोही अवधिको तुलनामा ५६ प्रतिशतले घटेर १८ अर्ब ६२ करोड युआनमा झरेको छ ।
समीक्षा अवधिमा कम्पनीको आम्दानी र मुनाफा दुवै प्रक्षेपणभन्दा कम हो । चीनमा कोभिड बल्झिएपछि शाङहाई समेत देशका कयौं प्रमुख शहरहरूमा लकडाउन गरिएको थियो । शून्य कोभिडको सरकारी नीतिको प्रभाव अर्थतन्त्रका कयौं क्षेत्र प्रभावित बनेका थिए । दोस्रो त्रैमासमा चीनको अर्थतन्त्र शून्य दशमलव ४ प्रतिशतले मात्रै बढेको थियो । यसले कम्पनीको फिनटेक, क्लाउड र विज्ञापन आम्दानीमा ठूलै असर गर्यो ।
चीनको घरेलु भिडियो गेम उद्योगले कठोर नियमनका कारण चुनौतीको सामना गरे । टेन्सेन्टको कूल आम्दानीमध्ये झन्डै एक तिहाई गेमिङ उद्योगबाट आउँछ । गत वर्ष चिनियाँ नियामकहरूले १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरूले अनलाइन गेम खेल्न बिताउन सक्ने समय एक हप्तामा अधिकतम् तीन घन्टामा सीमित बनाउने नियम ल्याएका थिए । सप्ताहन्त र सरकारी बिदाका दिनमा साँझ ८ बजेदेखि ९ बजेसम्म मात्रै खेल्न पाइने नियम छ ।
सन् २०२१ को जुलाईदेखि यस वर्षको अप्रिलको बीचमा नियामकहरूले नयाँ गेमलाई अनुमति पनि रोक्का गरेका थिए । दोस्रो त्रैमासमा टेनसेन्टले तीन ओटा मात्रै मोबाइल गेम लञ्च गरेको छ । यसको अर्थ आम्दानीका लागि कम्पनी आफ्नो विद्यमान लोकप्रिय गेममै निर्भर हुनु परेको थियो । गत वर्षको सोही अवधिको तुलनमा दोस्रो त्रैमासमा कम्पनीको घरेलु गेमिङको आम्दानी १ प्रतिशतले घटेर ३१ अर्ब ८० करोड युआनमा आएको कम्पनीले बताएको छ ।
अन्तरराष्ट्रिय गेमिङको आम्दानी पनि सोही अनुरूपले घटेर १० अर्ब ७० करोड युआनमा आएको छ । कोरोना भाइरसको महामारीको समयमा विश्वभर अनलाइन गेमिङ बजार निकै फस्टाएका थिए । तर कोभिडका कारण लगाइएको बन्दाबन्दी र घरमा बढी समय बिताउनु पर्दा मानिसहरूले अनलाइन गेमिङमा निकै समय बिताउँदा टेन्सेन्ट, नेटइजलगायत गेमिङ कम्पनीहरूको आम्दानीमा निकै उछाल देखिएको थियो । तर, विस्तारै आर्थिक तथा सामाजिक गतिविधिहरू खुल्न थालेका छन्, मानिसहरूले गेममा कम समय बिताइरहेका छन् ।
यस्तोमा गत वर्षको सोही अवधिको तुलनमा अहिले कम्पनीहरूको लागि समय कठोर बन्दै गइरहेको छ । विश्व बजारमा मात्रै नभएर चिनियाँ बजारमा पनि यस्तै अवस्था रहेको टेनसेन्टले बताएको छ । पबजी मोबाइल र अनर अफ किंग्स जस्ता चर्चित गेमबाट हुने आम्दानीमा पनि कमी देखिएको कम्पनीले बताएको छ । चीनको नियामक वातावरण सुधारीकरणबाट सामान्यीकरणतर्फ गइरहेकोले समय बित्दै जाँदा यसले उद्योगका लागि शुभ संकेत ल्याउने बुधवार टेनसेन्टका अध्यक्ष मार्टिन लाउले भनेका थिए ।
कम्पनीले निकट भविष्यमा नियामकहरूबाट गेमिङ लाइसेन्स पाउने आशा आफूले गरेको र यसले कम्पनीको घरेलु गेम व्यवसायलाई टेवा मिल्ने पनि उनले बताए । टेन्सेन्टले चीनको सबैभन्दा ठूलो मोबाइल भुक्तानी सेवा विच्याट पे पनि चलाउँछ । समीक्षा अवधिमा कम्पनीको फिनटेक र व्यवसाय सेवा श्रेणीको आम्दानी गत वर्षको सोही अवधिको तुलनमा जुन त्रैमासमा १ प्रतिशतले मात्रै बढेर ४२ अर्ब २० करोड युआनमा पुगेको छ ।
अघिल्ला त्रैमासको तुलनामा फिनटेक सेवाको आम्दानी वृद्धि सुस्त रहेको कम्पनीले एक विज्ञप्तिमा भनेको छ । कम्पनीले मुनाफा घट्न नदिन लागत कटौतीका उपायहरू अपनाइरहेको छ । अनलाइन कक्षा लगायत घाटामा गइरहेका केही व्यवसायहरू बन्द नै गरेको छ । लागत नियन्त्रणका पहलहरूले आगामी त्रैमासमा कम्पनीको गत वर्षको सोही अवधिको तुलनामा आम्दानी वृद्धिमा टेवा दिने अपेक्षा गरिएको छ । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।