भदौ ३, काठमाडौं । गत आर्थिक वर्षमा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. १ करोड १० लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको खुद नाफा ३७ दशमलव ४२ प्रतिशत कम भएको हो । अघिल्लो आवमा कम्पनीको खुद नाफा रू. १ करोड ७६ लाखभन्दा बढी थियो ।
गत आवमा कम्पनीको सञ्चालन नाफा २५ दशमलव ३६ प्रतिशत कम भएको छ । अघिल्लो आवमा रू. २ करोड ३५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत आवमा रू. १ करोड ७५ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । गत आवमा कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेकाले सञ्चालन नाफा घटेको हो । कम्पनीले गत आवमा कर्मचारी खर्च रू. ६ करोड ६१ लाखभन्दा बढी र अन्य सञ्चालन खर्च रू. ४ करोड ९ लाखभन्दा बढी गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १५ करोड २५ लाख रहेको छ । कम्पनीले सर्वसाधारणमा ९ लाख ७५ हजार कित्ता आईपीओ विक्री गरी साउन ३० गते बाँडफाँट गरेको छ । उक्त आईपीओपछि कम्पनीको चुक्तापूँजी रू. २५ करोड कायम भएको छ । कम्पनीको आईपीओ धितोपत्र दोस्रो बजारमा सूचीकृत हुन भने बाँकी रहेको छ ।
गत चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १ करोड ९१ लाखभन्दा बढी छ । सो अवधिसम्म कम्पनीले रू. १ अर्ब ६९ करोड कर्जा सापटी लिएको छ भने रू. २ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ । कम्पनीले यस अवधिसम्म रू. ३१ करोड १५ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष शून्य दशमलव ५४ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ६० प्रतिशत कायम भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।