सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले सेप्टेम्बर ७ मा आइफोन १४ सार्वजनिक गर्दैछ । यस मामिलाबारे जानकार स्रोतहरूलाई उद्धृत गर्दै ब्लुम्बर्गले छापेको समाचार अनुसार सो दिन आयोजना गरिने समारोहमा कम्पनीले नयाँ म्याकका साथै सस्तो र महँगा आइप्याड अनि तीन ओटा एप्पल वाचको मोडलहरू समेत सार्वजनिक गर्नेछ ।
स्मार्टफोन उद्योगमा विक्री सुस्ताइरहेको समयमा कम्पनीले आफ्नो फ्ल्यागशीप प्रडक्टहरू अपडेट गरिरहेको छ । महँगी अकासिएर जीवनयापन खर्च धान्नै नसक्ने अवस्था सिर्जना भएको अनि अर्थतन्त्र अस्थिर बनेको अवस्थामा स्मार्टफोन उद्योगमा विक्री सुस्ताउन थालेको छ । तर, अन्य प्रतिस्पर्धीको तुलनामा एप्पलको प्रदर्शन राम्रै छ । तर, कम्पनीको मागमा कमी नआउने आपूर्तिकर्ताहरूलाई एप्पलले संकेत गरेको छ ।
कम्पनीले हरेक वर्ष सेप्टेम्बरमा आइफोनको साथमा अन्य उपकरणहरू पनि सार्वजनिक गर्ने गरेको छ । सार्वजनिक गरेको करीब एक-डेढ हप्तामा स्टोरहरूमा नयाँ आइफोन विक्रीका लागि उपलब्ध हुने गरेको छ । केही खुद्रा स्टोरका कर्मचारीहरूलाई कम्पनीले सेप्टेम्बर १६ मा फोनको विक्री शुरु गर्न भने स्रोतहरूले बताएको छ । कोरोना भाइरसको महामारी शुरु भएयता कम्पनीले अनलाइनमार्फत सार्वजनिक कार्यक्रम गर्दै आएको छ ।
यस पटक पनि समारोह अनलाइन नै हुने बताइएको छ । कार्यक्रमको समयतालिकाबारे कम्पनीका प्रवक्ताले कुनै प्रतिक्रिया दिएका छैनन् । आइफोन सार्वजनिक कार्यक्रम अझै तीन हप्ता बाँकी भएकोले यो योजनामा हेरफेर हुन सक्ने बताइएको छ । कम्पनीले हरेक वर्ष सेप्टेम्बरको पूर्वार्द्धमा नयाँ आइफोन सार्वजनिक गर्ने गरेको छ ।
कम्पनीले सोमवार मात्रै आफ्ना कर्पोरेट कर्मचारीहरूलाई सेप्टेम्बर ५ देखिको हप्तामा तीन दिन व्यक्तिगत रूपमै कार्यालयमा आएर काम गर्नु पर्ने हुन सक्ने भनेको छ । कम्पनीले आइफोन १४ सार्वजनिक गर्नुभन्दा दुई दिनअगाडि यस्ताे बताएकाे हो । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।