भदौ ५, काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको भदौ ३ गतेका लागि बोलाएको १३ औं र १४औं संयुक्त वार्षिक साधारणसभा स्थगित भएको छ । शेयरधनीहरूको गणपूरक संख्या नपुगेकाले सभा स्थगित भएको कम्पनीले जानकारी दिएको छ । स्थगित सभाको मिति तय भएपश्चात् सूचना जारी गरी जानकारी गराइने कम्पनीले जनाएको छ ।
सभाका लागि अघिल्ला दुई आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंग्याउने विषय तय भएको थियो ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ६० करोडको आधारमा ७५ प्रतिशत हकप्रद शेयर निष्कासनको विशेष प्रस्ताव पनि सभाका लागि तय गरेको थियो । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ७५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको हो ।
हकप्रदपश्चात\ चुक्तापूँजी २ अर्ब ८० करोड रूपैयाँ कायम हुने हुँदा सोही बमोजिमको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्तावसमेत सभाका लागि तय भएको थियो । साथै सभाले संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट दुई जना सञ्चालकहरूको नियुक्ति गर्ने कार्यक्रमसमेत थियो ।
उल्लेखित सबै प्रस्तावहरू यथावत् रहने गरी कम्पनीले पुनः साधारणसभा आह्वान गर्नेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन १९ गते एक दिन गरेको बुक क्लोज नै लागू हुनेछ । बुक क्लोजको आधारमा पुनः बस्ने साधारणसभामा साउन १८ गतेसम्म कायम शेयरधनीहरू मात्र भाग लिन सक्नेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।