आईपीओ निष्कासन गर्न बाँकी ५ जीवन बीमा कम्पनीले कमाए ९२ करोडभन्दा बढी नाफा, कसकाे कति ?

Share News

भदौ ९, काठमाडौं । आईपीओ निष्कासन गर्न बाँकी पाँच जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा कुल रू. ९२ करोड ३४ लाख नाफा कमाएका छन् ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा रिलायबल नेपाल लाइफ, सन् नेपाल लाइफ, सिटीजन लाइफ, आईएमई लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले उक्त नाफा कमाएका हुन् । अघिल्लो आवको तुलनामा गत आवमा यी कम्पनीहरूको नाफा २४ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा यी कम्पनीहरूले कुल रू. ७४ करोड ४४ लाख नाफा कमाएका थिए ।  

सबैभन्दा बढी नाफा रिलायबल नेपाल लाइफ कमाएकाे छ । उसले रू. २७ करोड ४८ लाख नाफा कमाएको हाे । याे सूचीमा दोस्रोमा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । कम्पनीले रू. २१ करोड ४६ लाख नाफा कमाएको छ, याे नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा १०२ प्रतिशत बढी हाे । कम्पनीले अघिल्लो आवमा रू. १० करोड ६० लाख नाफा कमाएको थियो । 

१० ओटा जीवन बीमा कम्पनीहरूमध्ये पाँच ओटाले मात्रै सर्वसाधारणलाई आईपीओ जारी गरेका छन्, जसमा रिलायन्स लाइफ, प्रभु लाइफ, ज्योति लाइफ, यूनियन लाइफ र सानिमा लाइफ इन्स्योरेन्स छन् । 

आईपीओ निष्कासन नगरेकाे महालक्ष्मी लाइफले भने नेप्सेमा सूचीकृत प्रभु लाइफसँग मर्जरमा जाने सम्झौता गरिसकेको छ । प्रभुसँग मर्जर सम्झौता गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि एफपीओ निष्कासन गर्नुपर्ने देखिन्छ । 

रिलायबल लाइफ र सन् नेपाल लाइफले भने प्रिमियम मूल्यसहित आईपीओ निष्कासन गर्ने तयारीमा छन् ।

रिलायबल लाइफले रू. ११२ प्रिमियम मूल्यसहित प्रतिकित्ता रू. २१२ मा ६० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । सन् नेपाल लाइफले बीमा समितिबाट प्रिमियममा आईपीओ निष्कासन गर्ने अनुमति पाइसकेको छ । तर उसले धितोपत्र बोर्डमा निवेदन दिएको छैन । 

त्यसैगरी आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पनि आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात् ६० लाख कित्ता शेयर निष्कासनका लागि निवेदन दिएको हो । 

बीमा समितिले जीवन बीमा कम्पनीहरूलाई न्यूनतम चुक्तापूँजी रू. ५ अर्ब पुर्‍याउन निर्देशन दिएको छ । सोही निर्देशन अनुसार बीमा कम्पनीहरूले पनि धमाधम पूँजी बढाउने तयारी गरेका छन् । सन् नेपाल लाइफ, रिलायबल लाइफ, महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापकबाट पूँजी थपेका छन् । 

पाँच ओटा कम्पनीले कुल रू. १७ अर्ब १३ करोड बीमाशुल्क आर्जन गरेको छ । यी पाँचमध्ये सबैभन्दा बढी बीमाशुल्क सिटीजन लाइफ इन्स्योरेन्सले आर्जन गरेको हो । यस कम्पनीले गत आवमा मात्रै रू. ५ अर्ब ३१ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको हो ।

त्यसैगरी दोस्रोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रू. ३ अर्ब ९७ करोड बीमाशुल्क आर्जन गरेको छ । तलको टेबलमा कम्पनीहरूको चुक्तापूँजी, जगेडा, जीवन बीमा कोष र कुल बीमाशुल्क आर्जनलाई देखाइएको छ ।  


 स्रोत : कम्पनीहरूको चौथो त्रैमासिक वित्तीय विवरण । (रकम रू. हजारमा)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।