एचआईडीसीएलको संस्थापक शेयर भदौ २० गतेदेखि लिलामीमा विक्री खुला 

Share News

भदौ १३, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले भदौ २० गतेदेखि संस्थापक समूहतर्फको शेयर लिलामीद्वारा विक्री गर्ने भएको छ ।

यसअघि कम्पनीले तीन पटक शेयर बेच्नको लागि बोलपत्र पेश गर्न आह्वान गरेको थियाे । उक्त अवधिमा लिलामीमा ल्याएकोमा सबै शेयर विक्री नभएपछि कम्पनीले चौथो पटक शेयर लिलामीमा ल्याएको हो ।

कम्पनीले संस्थापक समूहको २ करोड ७८ लाख ९ हजार ४८० कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत विक्री गर्नको लागि साउन १५ गतेदेखि २९ गतेसम्म निष्काशन गरेकोमा उक्त समय अवधिभित्र प्राप्त बोलपत्रको आधारमा ४६ लाख ४ हजार ९८५ कित्ता शेयर मात्रै विक्री गरी बाँडफाँट गरिएको थियो ।

सोपश्चात् कम्पनीको भदौ ६ गते बसेको सञ्चालक समिति बैठकले बाँकी रहेको २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता शेयर पुनः गोप्य लिलामीमार्फत विक्री  गर्ने निर्णय गरेको हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य रू. १०० तोकेको छ । यसअनुसार आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन असोज ४ गते कार्यालय समयसम्म रहेको छ । 

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय, नक्साल काठमाडौं र ग्लोबल आइएमई बैंकका विभिन्न शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।