कुमारी बैंकले शुक्रवारदेखि ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्दै

Share News

भदौ १६, काठमाडौं । कुमारी बैंक लिमिटेडले भोलि शुक्रवार अर्थात् भदौ १७ गतेदेखि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्कासन गर्ने भएको हो । 

बैंकले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ ।

सर्वसाधारणलाई निष्कासन गरिनेमध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । बाँकी रहेको ११ लाख ४० हजार कित्ता ऋणपत्रका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

उक्त ऋणपत्र खरीदका लागि भदौ २१ गतेसम्म आवेदन दिनुपर्नेछ । उक्त  अवधिसम्म माग बमोजिम आवेदन नपरेमा निष्कासन अवधि भदौ ३१ गतेसम्म थप हुनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले मेरो शेयर एप र वेबसाइटबाट आवेदन दिन सक्नेछन् । यसका साथै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी आईआर ट्रिपल बी रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने तथा कर्जा जोखिम न्यून भएको संस्था जनाउँछ । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।