भदौ १६, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटरका हरेक १० मध्ये ८ ओटाभन्दा धेरै खाता नक्कली रहेको खुलासा भएको छ ।
हालै एक शीर्ष साइबर सुरक्षा विज्ञले ट्विटरमा ८० प्रतिशतभन्दा खाता नक्कली भएको बताएपछि बिहीवार अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला र अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सका सीईओ एलन मस्कले पुनः ट्विटरका सीईओ पराग अग्रवालको खेदो खनेका थिए ।
साइबर सुरक्षा कम्पनी एफ-५ का इन्टेलिजेन्स् ग्लोबल हेड ड्यान वूड्जले कम्पनीका ८० प्रतिशत भन्दा धेरै खाता बोट (झुठा र नक्कली) हुन सक्ने बताएको भन्दै द अष्ट्रेलियनले समाचारमा भनेको छ । यो कम्पनीले दाबी गरेको भन्दा निकै धेरै हो । ट्विटरका अनुसार ५ प्रतिशत खाताहरु मत्रै स्पाम वा बोट खाता छन् ।
मस्कले भने यो संख्या धेरै हुन सक्ने भन्दै ४४ अर्ब डलरमा ट्विटर किन्ने सम्झौता भंग गरेका थिए । बोट ५ प्रतिशतभन्दा निकै धेरै छ भन्दै समाचारलाई ट्याग गरेर मस्कले ट्विट गरेका छन् । प्रति बोट जिरो डलरमा सम्झौता काइदा हुने भन्दै मस्कले अग्रवाललाई जिस्काउँदै अर्को ट्विटमा भनेका थिए । मस्कले एकलौटी रुपमा सम्झौता रद्द गरेपछि कम्पनीले मस्कसँगको सम्झौता जसरी भएपनि पूरा गराइदिन भन्दै अदालतमा पुगेको छ । मस्कले पनि कम्पनीविरुद्ध प्रतिदाबी हालेका छ ।
ट्विटरमै पनि मस्क र अग्रवालबीच बोटको विषयमा खुला बहस जारी छ । वूड्जका अनुसार मस्क र ट्विटर दुबैले माइक्रोब्लगिङ प्लेटफर्ममा व्याप्त बोटको समस्यालाई निकै कम आँकेका छन् । ह्विस्सलब्लोआर पिटर जात्कोको बयानलाई उद्धृत गर्दै मस्क अहिले ट्विटर सम्झौता सम्बन्धी मुद्दामा थप समय माग्ने कोशिशमा छन् । अदालतमा अक्टोबर १७ देखि यो मुद्दाको पेशी शुरु हुँदैछ । जात्कोले ट्विटरमाथि लगाएको आरोपको मामिलामा सेप्टेम्बर १३ मा उनी अमेरिकी कंग्रेस पेश भएर बयान दिँदै छन् ।
जात्को ट्विटरमा पूर्व सुरक्षा प्रमुख हुन् । ट्विटरले कम्पनीको सुरक्षा अभ्यास र स्पाम खाताको संख्याबारे नियामकहरुलाई भ्रममा राखेको आरोप जात्कोले कम्पनीमाथि लगाएका छन् । यस मामिलामा मस्कको वकिलहरुको टोलीले उनलाई बोलाएको पनि थियो । जात्कोको दाबीले ट्विटर खरीद सम्बन्धी सम्झौता रद्द गर्ने आफ्नो निर्णयलाई जायज ठहर्याएको मस्कले बताइरहेका छन् । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।