बाढीका कारण बैंगलुरुका आईटी कम्पनीले एकै दिन गुमाए २ अर्ब २५ करोड रुपया 

Share News

भदौ २१, बैंगलुरु (भारत) । बैंगलुरुलाई भारतको मात्रै होइन एशियाकै सिलिकन भ्याली भनेर चिनिन्छ ।

तर यहाँको सडक पूर्वाधार कमजोर छ । वर्षातको मौसममा बाढी पसेर घन्टौंसम्म सडक अवरुद्ध हुने गरेका छन् । अगष्ट ३० मा बाढी पसेर सवारी आवागमन अवरुद्ध भएको अनि सडकमा सवारी साधनको ताँती लागेको अवस्थामा एकै दिनमा त्यहाँका सूचना प्रविधि कम्पनीहरुले २ अर्ब २५ करोड रुपया गुमाएका छन् । 

मुख्य मन्त्री बसभराज बोममाईलाई प्रेषित एक पत्रमा त्यहाँका सूचना प्रविधि र बैंकिङ कम्पनीहरुले यस्तो बताएका हुन् । पत्रमा शहरको जर्जर पूर्वाधार अवस्थालाई सम्बोधन गर्न भनिएको छ । सेप्टेम्बर १ मा बोममाईको नाममा पत्र प्रेषित भएको हो । पत्र बाहिरी रिंग रोग कम्पनी संघ (ओआरआरसीए) ले पठाएको हो । बाहिरी रिंगरोडमा रहेका कम्पनीका कर्मचारीहरु बाढीका कारण सडकमा पाँच घन्टाभन्दा लामो समय जाममा पर्दा एकै दिनमा २ अर्ब २५ करोड रुपया घाटा भएको ओआरआरसीएले बताएको छ । 

ओआरआरसीए करिडोर झन्डै १७ किमि लामो छ । यसले झन्डै १० लाख मानिसहरुलाई रोजगारी दिइरहेको छ । ओआरआर आईटीले मात्रै वार्षिक ३३ अर्ब डलर आम्दानी गर्छ । यो बैंगलुरुको कुल आम्दानीको ३२ प्रतिशत हो । शहरको कमजोर पूर्वाधारका कारण कम्पनीहरुको कार्यकशुलता तथा उत्पादनशीलता खस्किएको र कर्मचारीको सुरक्षा र समृद्धि समेत धरापमा परेका ओआरआरसीएले बताएको छ । 

ओआरआरको अपर्याप्त पूर्वाधार अहिले संकटको स्तरमै पुगेको गुनासो गरिएको छ । आकस्मिक व्यवसायिक योजना नल्याउने र घरबाटै काम गर्ने नीति नअपनाउने वा महत्वपूर्ण कामहरु बैंगलुरु र कर्णाटक बाहिर नसार्ने हो भने यसले नगरको मात्रै नभएर राज्यकै अर्थतन्त्रमा क्षति पुर्‍याउने र भविष्यमा पनि यस्तै खालको अवस्था आउन सक्ने चेतावनी ओआरआरसीएका शीर्ष अधिकारीहरुले दिएका छन् । एजेन्सी 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।