बहुप्रतिक्षित आईफोन १४ अनावरण, यस्तो छ मोडेल, फिचर र मूल्य

Share News

भदौ २३, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी आईफोन निर्माता कम्पनी एप्पल इंकले आईफोनको नयाँ मोडल सार्वजनिक गरेको छ ।

कम्पनीले बुधवार राति आईफोन १४ सिरिज सार्वजनिक  गरेको हो । सोही कार्यक्रममा एयरपड र स्मार्टवाच पनि सार्वजनिक गरिएको छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकसहित अधिकारीहरुले राति क्यालिफोनिर्यास्थित मूख्य कार्यालयमा आयोजित एक कार्यक्रममा  ती उपकरणहरु अनावरण गरेका हुन् ।

आईफोन १४ र आईफोन १४ प्लसको मोडलमा आइफोन १३ कै लगभग सबै डिजाइनलाई निरन्तरता दिइएको छ । यसमा पनि ए१५ बायोनिक चिपसेट नै छ । यस वर्ष कम्पनीले मिनी भर्जन भने ल्याएन । 

आईफोन १४ को मोडलमा फिजिकल सिम ट्रे पनि छैन । ई- सिम छ । आइफोन १४ को शुरुआती मूल्य ७९९ रहेको छ । आईफोन १४ प्लसको भाउ ८९९ रहेको छ । फोनको प्रि- अर्डर सेप्टेम्बर ९ देखि शुरु गरिनेछ । आईफोन १४ पसलमा विक्रीका लागि सेप्टेम्बर १६ देखि उपलब्ध हुनेछ भने आईफोन १४ को लागि अक्टोबर ७ सम्म कुर्नु पर्नेछ ।

दुबै मोडलमा आकस्मिक एसओएस छ । यसमा मोबाइल नेटवकर्कको टावर नहुँदा सेटलाइट कम्युनिकेशनबाट आकस्मिक म्यासेज पठाउन सकिनेछ । फोनको एन्टेनाले सेटलाइट फ्रिक्वेन्सीसँग कनेक्ट गर्नेछ । आकास सफा भएको दिनमा १५ सेकेन्डमै यसबाट म्यासेज पठाउन सकिने एप्पलले बताएको छ । 

आईफोन  १४ मा ६.१ इञ्चको स्क्रिन छ भने १४ प्लसमा ६.७ इञ्चको स्क्रिन छ । १४ प्लसको ब्याट्री अहिलेसम्मको आईफोनमा भएको मध्ये सबैभन्दा राम्रो भएको दाबी कम्पनीले गरेको छ । हरेक वर्ष कम्पनीले आईफोन पोर्टफोलियोका लागि नयाँ प्रोसेसर प्रयोग गर्दै आएको थियो ।

तर यस पटक नयाँ मोडलमा गत वर्षकै ए १५ बायोनिक चिप राखिएको छ । क्यामराको कुरा गर्नुपर्दा दुबैको मूख्य  क्यामरामा १२ मेगापिक्सलको एफ/ १.५ अपर्चर र सेन्रमा आधारित स्टेबलाइजेशन छ । प्रकाश कम भएको स्थानमा खिचिएको फोटोको स्तरमा ४९ प्रतिशत सुधार भएको दाबी कम्पनीले  गरेको छ । नाइट मोड पनि २ गुणा बढी फाष्ट भएको कम्पनीले बताएको छ । फोनको अगाडिपट्टी १२ मेगापिक्सलको अटोफोकससहित टु डेप्थ क्यामरा छ । 
आईफोन  १४ प्रो र प्रो म्याक्स
कम्पनीले बुधवार नै आईफोन १४ प्रो पनि सार्वजनिक गरेको छ । यसका १४ प्रो र प्रो म्याक्स गरी दुई ओटा मोडल छन् । एउटामा ६.१ इन्चको डिस्प्ले छ भने अर्कोमा ६.७ इन्चको डिस्प्ले  जडान गरिएको छ । आईफोन  १४ प्रोमा नयाँ चिप ‘ए१ ६ बायोनिक’ राखिएको छ । यसले क्यामेरासहित अन्य फिचरहरुलाई थप सुदृढ बनाएको कम्पनीको दाबी छ । आईफोन  १४ प्रोमा ग्राहकहरुले अहिलेसम्मकै शक्तिशाली क्यामेरा र राम्रो भिडियो अनुभव  गर्न सक्ने दाबी एप्पलले गरेको छ ।

बेस मोडलको भन्दा २०० डलर महँगोमा प्रो मोडल विक्री गर्ने गरेको छ । कम्पनीले आइफोन १४ प्रोको शुरुआती मूल्य ९९९ डलर तोकिएको छ भने आइफोन १४ प्रो म्यासको शुरुआती मूल्य १ हजार ९९  डलर तोकिएको छ । यी दुबै फोनमा क्रयाश डिटेक्सन र सेटलाइट नेटवर्कको सुविधा छन् । ४८ मेगापिक्सेलको मुख्य क्यामरा जडान गरिएको छ । 

बुधवार नै कम्पनीले एयरपड र स्मार्टवाच पनि सार्वजनिक गरेको छ । नयाँ एयरपड्स प्रोको मूल्य २४९ डलर तोकिकएो छ ।  यसमा अहिलेसम्मकै अत्याधुनिक एयरफोन भएको दाबी कम्पनीको छ । गुणस्तरीय साउन्डदेखि अनावश्यक आवाज घटाउन यो प्रडक्ट निकै उपयोग हुने एप्पलको जिकिर छ । अहिलेको भर्सनभन्दा लामो ब्याट्री लाइफ एयरपड्स प्रो टुमा रहेको बताइएको छ । यसको ब्याट्री ६ घण्टासम्म टिक्छ । यसमा नयाँ प्रोसेसर राखिएको छ । यो उपकरणमा भने नयाँ एचटु चिप प्रयोग गरिएको छ । 

एप्पल वाच सिरिज एट सार्वजनिक गरेको छ । यो स्मार्ट वाचमा तापक्रम सेन्सर, क्रयाश डिटेक्सन (दुर्घटना हुनेवित्तिकै इमर्जेन्सी सेवासँग अटोम्याटिक कनेक्ट हुने) फिचर  जडान छ । यसमा १८ घण्टाको ब्याट्री लाइफ छ । लो पावर मोडमा यसको ब्याट्री लाइफ ३६ घण्टासम्म रहेको एप्पलले बताएको छ । सिरिज एटको एप्पल वाचमा इन्टरनेसनल रोमिङ सेवा पनि छ । कम्पनीले जीपीएससहित सिरिज एट एप्पल वाचको ३९९ डलर र सेलुलर मोडलको ४९९ डलर तोकेको छ । 

एप्पलले खेलकूदमा सक्रियहरुलाई लक्षित गर्दै एप्पल वाच अल्ट्रा पनि ल्याएको छ । यसको विक्री सेप्टेम्बर २३ बाट थालिने कम्पनीले बताएको छ । यो वाचको मूल्य ७९९ डलर तोकिएको छ । यो घडीको एसइ मोडल पनि एप्पलले ल्याएको छ। यो प्रडक्टको सबैभन्दा कम मूल्यको भेरियन्ट एसइ मोडल नै हो। यसको मूल्य कम्पनीले २४९ अमेरिकी डलर तोकिएको छ। एजेन्सीहरु

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।