भदौ २६, काठमाडौं । समय सामान्य भएको बेलामा त राम्रा अनि असल हाकिम भेट्न मुश्किल हुन्छ । अस्थीर आर्थिक अवस्था अनि आसन्न मन्दीको जोखिम बढ्दो असल हाकिमहरु झनै दूलर्भ हुन्छ । यस्तो अवस्थामा असल हाकिमहरुको महत्व झनै धेरै हुन्छ ।
कम्पनीलाई जस्तोसुकै खराब अवस्थामा समेत पार लगाउने क्षमता उनीहरुसँग मात्रै हुन्छ । आर्थिक मन्दी जस्तो प्रतिकूल समयमा खराब हाकिमहरु कर्मचारीका लागि झनै समस्याकारी हुन्छन् । यिनीहरुको कदमले गर्दा तपाई अनि तपाईका सहकर्मीहरु कार्यालय छाड्न बाध्य बन्नु पर्ने अवस्था आउन सक्दछ । आर्थिक मन्दीको भय बढिरहेको, कम्पनीमा भएका कर्मचारीहरुमा कामको भारले बर्नआउटको समस्या बढिरहेको अनि केहीमा कामप्रतिको चरम असन्तुष्टिका कारण ठूलो संख्यामा अहिले अमेरिकीहरुले श्रमबजार छाडिरहेका छन् ।
जुलाईमा मोमेन्टिभ र न्यूयोर्क टाइम्सले गरेको एउटा सर्वेक्षणमा ५२ प्रतिशतभन्दा धेरै सहभागीहरुले नयाँ जागिर खोज्न यो उपर्युक्त समय भएको बताएका थिए । यस्तो खालको समयमा हाकिमहरुले गर्ने केही गल्तीका कारण पनि कर्मचारीले जागिर छाड्छन् । यी मध्ये केही त्रुटीहरु निम्नानुसार रहेको व्यवस्थापन परामर्श कम्पनी रोबर्ड हाल्फका वरिष्ठ कार्यकारी निर्देशक पल म्याकडोनल्ड भन्छन् ।
१. पर्याप्त प्रशंसा नगर्ने
आर्थिक मन्दीको समयमा अनिश्चय, भय उच्च नै हुन्छ । कार्यस्थलमा कर्मचारीहरुको मनोबल घट्छ । यस्तो अप्ठयारो आर्थिक समयमा म पनि यो संगठनको महत्वपूर्ण हिस्सा हुन भनेर महसुस गर्न कर्मचारीहरु चाहन्छन् । तर कर्मचारीहरुको प्रशंसा गर्न नसक्ने अनि उनीहरुको योगदानलाई नचिन्ने हाकिमका बानीका कारण कर्मचारीहरु ‘यो भन्दा बढी मैले के गर्नु पर्ने हो ?’, ‘मैले के गल्ती गरिरहेको छु ?’ भन्ने सोच्न बाध्य हुन्छन् ।
यिनीहरुले कम्पनी वा कार्यालयसँग जोडिएको महसुसस गर्न सक्दैनन् । एक्लिएको वा वेवास्ता गरिएको महसुस गर्छन् । आर्थिक मन्दीको समयमा कम्पनीलाई कर्मचारीहरुको उत्पादनशीलता र आबद्धताको झनै धेरै खाँचो हुन्छ । अनुसन्धान संस्था ग्यालपले सन् २०१६ मा गरेको अनुसन्धानको डेटाले म्याकडोनल्डको भनाइको समर्थन गरेको छ । सो सर्वेक्षणमा सहभागी भएकाहरुले कार्यालयले आफ्नो मूल्यांकन राम्रोसँग नगरेको वा गरेको कामको जस नदिएका अनि आगामी १२ महीनाभित्रै जागिर नै छाड्ने सम्भावना दोब्बर बनेको बताएका थिए ।
२. इमान्दार सञ्चारकर्ता नबन्नु
आर्थिक अनिश्चयको समयमा कर्मचारीहरुमा आफ्नो जागिर के होला ? न कम्पनीले निकाल्ने पो हो कि भन्ने द्विविधा र भय बढ्छ । असल हाकिमले आफ्नो संस्थाको वास्तविक अवस्थाबारे इमान्दारीपूर्वक बुझाउँछन्, सञ्चार गर्छन् । घट्दो आम्दनी वा उच्च खर्च जस्ता अवरोधहरुबाट संस्थालाई पार लगाउन के कस्ता पहल भइरहेका छन्, भनेर बताउँछन् । सञ्चार राम्रो नहुँदा कर्मचारीहरुको मनमा ‘हामी कहाँ छौं ? ’, ‘कतै मलाई कामबाट निकाल्ने त होइन ?’ ‘कम्पनीको आम्दानी घटिरहेको छ कि ?’ यस्ता खालका कयौं प्रश्न खेल्न थाल्छन् ।
यस्तो खालको प्रश्नहरुले घेरिएर काम गर्नु पर्दा कसैले पनि राम्ररी काम गर्न सक्दैन । कमजोर सञ्चारका कारण कर्मचारीहरुले जागिर छाड्ने गरेको अनुसन्धानले पनि देखाएको छ । बिजनेश कम्युनिकेशन कम्पनी डायनामिक सिग्नलले सन् २०१९ मा गरेको एउटा सर्वेक्षणमा ६३ प्रतिशतभन्दा धेरै सहभागीहरुले जागिर छाड्नुको कारण कम्पनीले प्रभावकारी रुपमा सञ्चार नगर्नु थियो । आर्थिक अनिश्चयको समयमा कर्मचारीहरुसँग प्रभावकारी सञ्चारको महत्व कत्तिको हुन्छ भनेर सम्झनु पर्ने म्याकडोनल्डको भनाइ छ ।
३. गल्तीमा मात्रै जोड दिने
कार्यालयमा कर्मचारी रोजगारदाताप्रति बफादार र इमान्दार त हुनु पर्छ नै हाकिम पनि कर्मचारीप्रति इमान्दार हुनु पर्छ । तर इमान्दार बन्ने बहानामा कर्मचारीले के गलत गरिरहेको छ भन्नेमा मात्रै जोड दिने अनि उसले गरेको राम्रो कामबारे कुरै नगर्नु पनि ठिक होइन भन्छन् म्याकडोनल्ड । नकारात्मक कुराहरु मात्रै गरेर कर्मचारी आशावान बन्न सक्दैनन् । उनीहरुको सकारात्मक ऊर्जा थप्न सकिन्न । खराब हाकिमहरुले कर्मचारीहरुमा तनाव मात्रै भर्छन् ।
संगठनमा पनि पिर र चिन्ता मात्रै गर्छन् । भय अत्यधिक भएको संगठनमा कर्मचारी काम गर्न र टिक्न सक्दैनन् । उनीहरु अन्त्यै जान्छन् । पछिल्लो समय अमेरिकामा राजीनामा दिनेको लर्को देखिनुको एउटा कारण यो पनि हो । एजेन्सीहरु
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।