भदौ २८, काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षकोे वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनी रू. ८ करोड ६३ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा कम्पनीको खुद नोक्सानी १४१ प्रतिशत बढेको छ ।
तीन महीनाको अवधिमा कम्पनीको सञ्चालन नाफा ८५ दशमलव ४२ प्रतिशत कम हुँदा खुद नोक्सानी बढेको देखिन्छ । गत आवको तेस्रो त्रैमाससम्म रू. ८ करोड १९ लाखभन्दा बढी सञ्चालन नाफा गरेको यस कम्पनीले चौथो त्रैमासम्ममा रू. १ करोड १९ लाखभन्दा बढी नाफा गरेको छ ।
कम्पनीको विद्युत् विक्री आम्दानी तीन महीनाको अवधिमा ७८ प्रतिशतले कमी आएको हो । असार मसान्तसम्म यो कम्पनीले रू. २ करोड ३६ लाखको विद्युत् विक्री गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६० करोड रहेको छ । खुद नोक्सानी बढ्दै गएको कम्पनीको जगेडा कोष रकम रू. ४९ करोडभन्दा बढी ऋणात्मक रहेको छ । तेस्रो त्रैमाससम्मको तुलनामा जगेडा कोषको ऋणात्मक रकम पनि असार मसान्तसम्म २१ दशमलव ३५ प्रतिशत बढेको छ ।
दीर्घकालीन कर्जा रू. ९७ करोड ४१ लाखभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा तथा सापटी रकम रू. ५ करोड ८५ लाखभन्दा बढी छ । दीर्घकालीन कर्जा २ दशमलव ३३ प्रतिशत कम भएको छ भने अल्पकालीन कर्जा तथा सापटी रकम साढे ५२ प्रतिशत बढेको छ । चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ६९ दशमलव ३३ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।