काठमाडौं । जापानी स्टार्टअप कम्पनी एरविन्स टेक्नोलोजीले बनाएको उड्ने बाइक होभरबाइककाे सफल उडान भएकाे छ । अमेरिकाको डेट्रोइट अटो शोमा फ्लाइङ बाइक एक्सटुरिज्मोले होभरबाइककाे सफल उडान गरेको हाे । पेट्रोलमा इन्जिनमा आधारित उक्त बाइकले प्रतिघण्टा १०० किलोमिटर (किमि)को गतिमा उडान भर्न सक्छ ।
४० मिनेटसम्म हावामा उड्न सक्छ
८० देखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड लिमिटको बाइकको व्यवसायिक उत्पादन भने अझै सुरु भएको छैन । बाइकलाई एक पटकमा ३० देखि ४० मिनेटसम्म हावामा उडाउन सकिने छ । बाइक रातो, निलो र कालो रंगमा उपलब्ध छ । ड्रोनजस्तै देखिने बाइकले उडान गर्दा करिब १०० केजी तौल वहन गर्न सक्छ भने बाइकको तौल ३०० केजी रहेको जनाइएको छ ।
यो वर्ष २०० यूनिट बाइक बजारमा आउने
पेट्रोल-इलेक्ट्रिक होभरबाइक कावासाकी हाइब्रिड इन्जिन रहेको यो बाइक उड्दा धेरै ठूलो आवाज आउँछ । नोइज रिड्यूसरहरू थपेपछि कम्पनीले २०२२ मा करिब २०० यूनिट बाइक बेच्ने योजना बनाएको बताइएको छ ।
हलिउड फिल्म ‘स्टार वार्स’बाट प्रभावित
जापानी कम्पनीको यो होभरबाइक हलिउड फिल्म ‘स्टार वार्स’मा देखिएको फ्लाइङ बाइकजस्तै मोडलमा बनेको छ। बाइकको मूल्य नेपाली मूल्य करिब १० करोड रूपैयाँ छ । तर, यसको व्यवसायिक विक्री शुरू हुन भने बाँकी नै छ ।
कहिलेदेखि बिक्री शुरू हुन्छ ?
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुहाईले कोमात्सुले यो बाइक जापानमा विक्री शुरु भएको बताए । होभरबाइकको सानो संस्करण सन् २०२३ देखि अमेरिकामा विक्री शुरु हुनेछ। बाइकको सफल विक्रीपछि सानो र सस्तो भेरियन्टमा भारत, चीन, नेपाललगायत देशमा सन् २०२५ देखि विक्री शुरु हुने बताइएको छ।
अक्टोबर २०२१ मा कम्पनीले जापानमा भएको प्रदर्शनीमा बाइकको मोडल डिजिटल रूपमा सार्वजनिक गरेको थियो । केही महिनापछि उक्त बाइकको डेमो पनि सर्वसाधारणलाई देखाइएको थियो ।
पहिलो उड्ने बाइक चीनमा बनेको थियो
सन् २०१९ अक्टोबरमा एक चिनियाँ व्यक्तिले आफ्नो घरमा उड्ने बाइकको सफल परीक्षण गरेर संसारलाई चकित पारेका थिए । उक्त भिडियो युट्युब र सामाजिक सञ्जालमा भाइरल भएको थियो । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।