काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाएका छन् ।
सोमवार निर्वाचन आयोगमा पुगेर मुख्य राजनीतिक दलसहितका अन्य दलहरुले आगामी निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारहरुको बन्दसूची बुझाएका हुन् ।
आयोगले आइतवार र सोमवार गरी दुई दिन समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाउन समय दिएको थियो । सोही समयावधि भित्र राजनीतिक दलहरुले आफ्ना आफ्ना उम्मेदवारहरुको बन्दसूची आयोगमा पेस गरेका छन् ।
सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगायतका दलहरुले समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाएका हुन् ।
उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समानुपातिक बन्दसूचीमा नेपाली काँग्रेस कार्यसमितिबाट पनि कतिपय सदस्यहरु रहेको बताए । उनले नेपाली काँग्रेस उत्साहका साथ निर्वाचनमा होमिएको उल्लेख गर्दै जनताले नेपाली काँग्रेसलाई बहुमत लक्षित दलको रुपमा भोट दिने विश्वास व्यक्त गरे ।
त्यस्तै नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रको तर्फबाट डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई ५ सिट छोडेर १०५ जनाको मात्रै नाम दिएको बताएका छन् ।
उनले विगतमा समानुपातिक प्रदेश वा संघबाट समानुपातिक भइसकेका, राष्ट्रिय सभामा एक कार्यकाल बसिसकेका, पहिलो र दोस्रो संविधान सभामा मनोनिततर्फ प्रतिनिधित्व गरिसकेका र स्थानीय तहमा निर्वाचित एवं निर्वाचनमा हारेकाहरुलाई बन्दसूचीमा नराखेको बताए । पार्टीले नाम पठाउँदा युवाहरुलाई विशेष जोड दिएको पनि उनको भनाइ छ ।
त्यस्तै बन्दसूची बुझाएपछि बोल्दै नेकपा एमालेका नेता निरज आचार्यले विगतका समानुपातिक सूचीमा रहेकाहरुलाई नदोहोर्याएको बताए । उनले समानुपातिक सूचीमा कोहीपनि पुराना नेताहरु नरहेको उल्लेख गर्दै सबै नयाँ अनुहार रहेको दाबी गरे ।
त्यस्तै राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठले ११० वटै बन्दसूचीका नाम पेस गरेको बताए । उनले केन्द्रीय पदाधिकारीहरु सबै प्रत्यक्षमा चुनाव लड्ने पनि बताए ।
प्रतिनिधिसभामा समानुपातिक पद्धतिबाट ११० जना र ७ वटा प्रदेशसभामा २२० जना उम्मेदवार हुनेछन् । समानुपातिक पद्धतिमा मतदाताहरुले राजनीतिक दललाई मत दिनेछन् । राजनीतिक दलले पाएको मतको आधारमा बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट सांसद निर्वाचित हुन्छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।