घट्यो अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ, प्रतिब्यारेल मूल्य ८६ डलर

Share News

काठमाडौं । कच्चा पेट्रोलियम पदार्थको मूल्य शनिवार अन्तरराष्ट्रिय बजारमा घटेको छ ।

कच्चा तेलको मूल्य अहिले प्रतिब्यारेल ८६ डलरमा झरेको हो । यसअघि, प्रतिब्यारेल कच्चा तेलको मूल्य १३० अमेरिकी डलरसम्म पुगेको थियो । ओयल प्राइस डटकमका अनुसार ब्रेन्ट क्रुड कच्चा पदार्थको मूल्य शनिवार ८६ दशमलव १५ डलर प्रतिब्यारेल रहेको छ । अघिल्लाे दिन बजार बन्द हुँदाकाे तुलनामा यो ४ दशमलव ३१ प्रतिशतले घटेकाे हो । त्यसैगरी, वेस्ट टेक्सस इन्टरमिडियट (डब्लूटीआई) कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८ दशमलव ७४ डलरमा आइपुगेको छ ।

डब्लूटीआई कच्चा तेलको मूल्य पनि ४ दशमलव ७५ प्रतिशतले घटेको ओयल प्राइसले उल्लेख गरेको छ । यसैगरी, प्राकृतिक ग्यास, ग्यासोलिन लगायत सबै प्रकारका कच्चा तेलको मूल्य ह्वात्तै घटेको छ । खासगरी, संयुक्तराज्य अमेरिकामा आर्थिक मन्दी आउने हल्ला चलेसँगै अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको हो ।

कच्चा तेलको मागमा सुस्तता आएसँगै भाउ घट्न थालेको हो । हालै अमेरिकी बहुराष्ट्रिय लगानी बैंक सिटी ग्रुपको एक रिपोर्टले २०२२ को अन्त्यसम्म कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ६५ डलरसम्म आउन सक्ने चेतावनी दिएको छ । पछिल्लो समय चीन, भारत लगायत मुलुकले रुसबाट सस्तो दरमा तेलको माग बढाएका छन् ।

कच्चा तेलको मूल्यले अप्रत्यक्ष रुपमा नेपालीको भान्सासम्म प्रभाव पार्दछ । नेपाल आयल निगम (एनओसी) ले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट तेल खरीद गर्दै आएको छ । आईओसीले प्रशोधन खर्च र कच्चा तेलको मूल्यअनुसार नेपाललाई प्रत्येक १५/ १५ दिनमा नयाँ मूल्य सूची पठाउँछ ।

सोही मूल्यसूचीका आधारमा एनओसीले नेपालमा पेट्रोलियम पदार्थको मूल्य परिवर्तन गर्ने गरेको छ ।  कच्चा पदार्थको मूल्य ह्वात्तै घटेसँगै यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने छ । एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।