काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कात्तिक ४ गते १२ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको गत बुधवार बसेकाे सञ्चालक समिति बैठकले कम्पनीको प्रधान कार्यालय तिनकुने, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाले आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै आव ०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुंग्याउनेछ ।
कम्पनीले आर्थिक वर्ष ०७६/७७ सम्मको मुनाफाबाट कुल ७ दशमलव ८३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब ८ करोड ४२ लाख ५० हजारको आधारमा ७ दशमलव ४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई समेत साधारण सभाले वितरणयोग्य बनाउनेछ ।
हाल यो कम्पनी मर्जर प्रक्रियामा छ । गुराँस लाइफ, प्राइम लाईफ र युनियन लाईफ मर्जरमा जाने प्रक्रियामा छन् । आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्थामा यी कम्पनीहरू एक भएर तोकेबमोजिमको पूँजी कायम गर्न लागेका हुन् । साधारण सभाले मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता पत्रलाई समेत अनुमोदन गर्नेछ ।
बोनस शेयर वितरणपछि पूँजी वृद्धि हुने हुँदा सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावलाई समेत सभाले पारित गर्नेछ । गत वैशाख २९ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेको कम्पनीको शेयर कारोबार गत जेठ ३ गतेदेखि नै रोक्का छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २६ गते बुक क्लोज गर्ने बताएको छ । यसर्थ असोज २५ गतेसम्म शेयर किताबमा कायम शेयरधनीहरूले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्ने कम्पनीको भनाई छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यस कम्पनीले रू. १७ करोड ५१ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म रू. १२ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ४४ दशमलव २७ प्रतिशत बढी खुद नाफा गरेको हो । चौथो त्रैमाससम्म गुराँस लाइफको जगेडा कोष रकम रू. ५८ करोड ७४ लाखभन्दा बढी छ भने जीवन बीमाकोषमा रू. १२ अर्ब ४५ करोडभन्दा बढी छ । कम्पनीले गत वर्ष रू. ३ अर्ब ८ करोडभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. १ अर्ब ६६ करोडभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ४० र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ७८ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।