काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलवार कम्पनीले प्रस्ताव गरेको ७ दशमलव ४४ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।
नेप्सेले कम्पनीको पछिल्लो कारोबार दिन कायम अन्तिम शेयर मूल्य रु. ४८५ को आधारमा मूल्य समायोजन गरेको हो । समायोजन पछिको मूल्य नेप्सले प्रतिकित्ता रु. ४५१ दशमलव ४० तोकेको छ । मर्जर प्रयोजनका लागि कम्पनीको शेयर कारोबार गत जेठ ३ गतेदेखि नै रोक्का रहेको छ ।
मर्जर प्रयोजनका लागि कम्पनीको शेयर कारोबार भने गते जेठ ३ गतेदेखि नै रोक्का रहेको छ । गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ मर्जरमा जाने प्रक्रियामा रहेका छन् ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजी रु. २ अर्ब ८ करोडभन्दा बढीको आधारमा ७ दशमलव ४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावसहित मर्जर लगायत विविध प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक ४ गते १२औं वार्षिक साधारणसभा बोलाएको छ । सो साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २६ गते बुक क्लोज गर्ने भएकोले नेप्सेले बुक क्लोज पछिको मूल्य तोकिदिएको हो ।
बुक क्लोजको आधारमा असोज २५ गतेसम्म शेयर किताबमा कायम शेयरधनीहरूले साधारणसभामा भाग लिन पाउने र लाभांश प्राप्त गर्ने कम्पनीको भनाइ छ । आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले रु. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्थामा यी कम्पनीहरू एक भएर तोके बमोजिमको पूँजी कायम गर्न लागेका हुन् ।
यी तीन कम्पनीहरूबीच गत वैशाख २९ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।