इष्टर्न हाइड्रोपावरले शुक्रवारदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दै

Share News

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले शुक्रवारदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ विक्री गर्न लागेको हो । 

कम्पनीले पहिलो चरणमा प्रतिकित्ता रु. १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि बाँडफाँट गरी बाँकी रहेको ५० हजार ३१० कित्ता शेयरसमेत जोडेर ६ लाख ७० हजार ३१० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । यीबाहेक बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो । 

सर्वसाधारणले सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । यो शेयर छिटोमा कात्तिक १ गतेसम्म विक्री खुला हुनेछ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि कात्तिक १४ गतेसम्म विक्री लम्बिनेछ । 

आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ्गस नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ ।

लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो शेयर तथा एपबाट आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले भोजपुरमा ५ मेगावाट क्षमताको पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ जेठ २७ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको निर्माण लागत कुल रू. १ अर्ब ३० करोड ५८ लाखभन्दा बढी छ भने प्रतिमेगावाट लागत रू. २६ करोड ११ लाखभन्दा बढी छ ।

अधिकृत चुक्तापूँजी रू. ६२ करोड रहेको कम्पनीको चुक्तापूँजी रू. ४९ करोड ६० लाख छ । सर्वसाधारणमा आईपीओ बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी रू. ६२ करोड कायम हुनेछ । हाल कम्पनीमा संस्थापकतर्फको ८० प्रतिशत शेयर स्वामित्व कायम छ भने स्थानीयमा ९ दशमलव १९ प्रतिशत शेयर बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारणमा १० दशमलव ८१ प्रतिशत शेयर वितरण गर्न लागेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।