किसानलाई तिहारभन्दा खेती प्यारो : खेतबारीमै उम्मेदवार आउँदा आक्रोशित

Share News

काठमाडौं । दशैंमा धेरै दिनसम्म पानी परेपछि तिहारको समयमा अधिकांस किसानहरू खेतीबाली स्याहार्नमै व्यस्त देखिन्छन् । किसानको प्राथमिकता तिहार भन्दाबढी खेतीबाली भएको छ ।

तर, मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवाहरू भने तिनै किसानको काममा बाधा पुग्ने गरि खेतबारीमै घरदैलो अभियान चलाई रहेका छन् ।

उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमा भन्दा ज्यादा खेतबारीमा भेटिन्छन् । कोदो काट्ने र धान थन्क्याउने चटारोले किसानलाई भ्याइनभ्याइ भएको छ । त्यसैले  उम्मेदवारचाहिँ खेतमै पुगेर मत मागिरहेका हुन्छन् ।

उम्मेदवारहरू खेतबारीमै पुगेको किसानलाई चाहिँ मन परेको छैन । खेतबारीको काममा नसघाउने र काम गरिरहेको बेलामा एक छिन भएपनि अवरोध पुर्‍याउने हुँदा उनीहरूको चाहना उम्मेदवार खेतबारीमा नआईदिए हुन्थ्यो भन्ने छ ।

'नेता आउँछन् भनेर घरमा उनीहरूलाई कुरेर बस्न सकिन्न', धाइरिङकी नवीना आचार्यले भनिन्, 'हाम्रो काममा नेताले सघाउने होइनन् क्यारे, हामीलाई खेतीकिसानीमा भ्याइनभ्याइ छ ।'

धान, कोदोलगायतका फसल स्याहार्ने बेला छ । 'अहिले गाउँमा पुग्दा धेरै मतदाता खेतबारीमा व्यस्त भएको पायौँ', नेपाली कांगे्रसका युवानेता याम परियारले भने, 'अहिले केही गाउँमा घरदैलो सकिएको छ, कात्तिक १७ गतेपछि फेरि गाउँमा आमसभा, भेटघाट र प्रचार–प्रसारको कार्यक्रमलाई तीव्र पार्छाैँ ।' 

कालीगण्डकी छेउमा रहेको मालढुङ्गास्थित सुकुम्बासी बस्तीमा माझीलगायत अन्य जातजातिको बसोबास छ । दलका उम्मेदवार प्रत्येक निर्वाचनमा आवश्वासनको भारी बोकेर १ सय ५० घरधुरी रहेको यस बस्तीमा भोट माग्न पुग्छन् ।

यहाँका स्थानीयमा दलका उम्मेदवारप्रति खासै धेरै आशा र अपेक्षाचाहिँ केही छैन । कालीगण्डकी किनारमा तीन दशकदेखि बस्दै आएका उनीहरूको सामान्य माग भनेको नदीबाट बिना अवरोध बालुवा झिकेर बेच्न पाइयोस् भन्ने छ । उनीहरूको जिन्दगी त्यही कालीगण्डकीको बालुवामा नै अडिएको छ ।

'हामीले बालुवा झिक्दा प्रहरी प्रशासनले अवरोध गर्ने, दुःख दिने काम गर्छ', स्थानीय प्रमिला जिसीले भन्नुभयो, 'हाम्रो बाँच्ने आधार भनेकै बालुवा हो, अरुले जस्तो मेसिन लाउँदैनौँ, हातले बालुवा झिक्दा पनि गरी खान दिँदैनन् । हाम्रो समस्या समाधान गर्नेलाई भोट हाल्छौँ ।'

महिना दिनअघि दशैँ मनाउन विदेशबाट नेपाल फर्केका कार्कीनेटाका दिपेश परियार भने चुनावलाई लिएर उत्साहित देखिन्छन् । उनी देशको बिग्रदोँ अवस्था र राजनीतिक दलको मनोमानी देखेर भने आक्रोशित पनि हुन्छन् ।

'पाँच वर्षअघिको चुनावमा भोट खसालेको केही महिनामै परिवार पाल्न विदेशिएको थिएँ, अहिले पनि चुनावकै समयमा घर फर्किएको छु', उहाँले  भन्नुभयो, 'गाउँमा विकास चाहिएको छ, आश गरौँ अब विकास होला, विकासप्रेमी नेता छान्नुपर्ने छ ।'

यी त प्रतिनिधि पात्र र घटना मात्रै हुन् । यस्तो अवस्था अहिले देशका अधिकांश ठाउँमा छ । देशभर चुनावी माहोल तातीएको छ । कतै ४/६ जना मान्छे भेला भएको देख्ने वित्तिकै उम्मेदवार वा तिनका कार्यकर्ताले त्यहीँ भाषण गर्न शुरू गर्छन् ।

भेला भएको ठाउँ कस्तो हो भन्ने कुराको उम्मेदवारलाई मतलवै नभएको मतदाताको गुनासो छ । उनीहरू जहाँ पनि चाहिने नचाहिने कुरा गरिरहेका हुन्छन्, चाहे त्यो खेतबारी होस या मसानघाट । तर, सुन्ने मान्छेलाई यतिबेला उनीहरूका कुरामा कुनै रूचि लागेको देखिन्न । -राससको सहयोगमा

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।