नेपालगञ्ज । नेपालगञ्जमा रहेको एक चुरा गोदाममा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगरस्थित रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आइतवार आगलागी भएको थियो ।
एक्कासी आगलागी हुँदा बर्दियाको मधुवन नगरपालिका–८ का २३ वर्षीय समिर वलीको मृत्यु भएको हो । उक्त गोदाम आरिफ अन्सारीले भाडामा लिएका थिए । प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार आगलागीबाट गम्भीर घाइते वलीको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।
मृतक वली शनिबार भेटघाटका लागि गोदाममा आएका थिए । घाइते भएका गोदाम सञ्चालक अन्सारीको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
विद्युत् तार सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ । नेपाली सेना, प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो निभाइएको छ । आगलागीबाट करिब ४२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।