काठमाडौं । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले माइक्रो ब्लगिङ वेबसाइट ट्विटर किनेपछि सो कम्पनीमा अनिश्चय बढेको छ ।
शीर्ष व्यवस्थापन तहबाट धमाधम कर्मचारी निस्किरहेकै समयमा ठूलो संख्यामा कर्मचारीको कटौती गर्ने खबरहरु आइरहेको अनि आगामी केही दिनमै सामाजिक सञ्जालमा व्यापक हेरफेर हुँदै गर्दा अनिश्चय चुलिएको छ ।
कम्पनीको विज्ञापन र मार्केटिङ प्रमुखले हालै आफ्नो राजीनामाको घोषणा गरेका छन् । मानव संशाधन र विविधता अधिकारी, कोर प्रविधि, प्रडक्ट हेड र ग्लोबल सेल्सका उपाध्यक्षले पनि राजीनामा दिएका छन् । गएको हप्ता मस्कले प्रमुख कार्यकारी अधिकारी पराग अग्रवाल, प्रमुख वित्तीय अधिकारी नेड सिगल र कानूनी मामिला तथा नीति प्रमुखसमेतका शीर्ष अधिकारीहरुलाई बर्खास्त गरेका थिए ।
मस्कसँग काम गर्न इच्छुक भनेर मंगलवार मात्रै ट्विट गरेका प्रमुख उपभोक्ता मामिला अधिकारी तथा विज्ञापन प्रमुख साराह पेर्सोनेटले राजीनामा दिएकी छिन् । नयाँ मालिक आएपछि कम्पनीमा कसरी परिवर्तन आउँला भन्ने अनिश्चय विज्ञापनदाताहरुमाझ बढेको छ । मंगलवार नै एउटा लिंकइन पोष्टमा मानव संशाधन अधिकारी डालना ब्रान्डले पनि राजीनामा दिएको घोषणा गरेकी छिन् ।
आफूले गएको हप्ता नै राजीनामा दिएको उनले बताएकी छिन् । कोर प्रविधिका लागि महाप्रवन्धक निक काल्डवेलले पनि कम्पनीबाट बाहिरिन लागेको पुष्टि गरेका छन् । सोमवार राति नै उनले आफ्नो प्रोफाइल बायोमा ट्विटरका पूर्व कार्यकारी लेखेका छन् । कम्पनीका प्रडक्ट प्रमुख जे सुलिभान ग्लोबल सेल्स प्रमुख जाँ–फिलिप माहेउ पनि बाहिरिएको खबरहरु आइरहेका छन् ।
उनीहरु स्वविवेकले बाहिरिएका हुन् कि निकालिएका हुन् भन्ने स्पष्ट भइसकेको छैन । ट्विटर मस्कको पोल्टामा पुगेदेखि नै व्यापक रोजगारी कटौतीको हल्ला चलिरहेको छ । ब्लुम्बर्गको खबर पत्याउने हो भने खर्च घटाउन मस्कले ३ हजार ७०० कर्मचारीलाई कामबाट निकाल्दै छन् । यो भनेको ट्विटरमा कार्यरत कर्मचारीको आधा हो ।
यसको साथै मस्कले सबै कर्मचारीलाई कम्पनीमै आएर काम गर्न पनि निर्देशन दिने बताइएको छ । मस्कले आगामी हप्ता देखि नै ब्लु टिक भेरिफिकेशनका लागि ८ डलर शूल्क लिन थाल्ने समाचार पनि छापिएका छन् । कम्पनीले गएको हप्ता चेक–इन कल रद्द गरेको थियो ।
बुधवार सबै कर्मचारीहरुलाई बोलाएर बैठक गर्दैछ । मस्कले कम्पनी हातमा लिएयता ट्विटरमा घृणीत कन्टेन्टहरु बढेका छन् । मस्कले विज्ञापनदाताहरुलाई आश्वस्त बनाउन खोजेको भएपनि विज्ञापनदाताहरु पनि अलमलमा छन् । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।