काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सिभिल लघुवित्तको खुद नाफा गत वर्षको तुलनामा ४९ दशमलव ४९ प्रतिशत कम भएको छ । गत वर्ष यस अवधिमा रू. १ करोड ४४ लाखभन्दा बढी रहेको खुद नाफा यस वर्ष रू. ७२ लाख ८३ हजारमा सीमित भएको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू. ६ लाख ६१ हजार रहेको छ । गत वर्षको तुलनामा कम्पनीको इम्पेरमेण्ट चार्ज १२२ दशमलव ४९ प्रतिशतले बढ्दा सञ्चालन नाफासँगै खुद नाफासमेत घटेको हो ।
गत वर्ष रू. ४६ लाखभन्दा बढी रहेको इम्पेरिमेन्ट चार्ज यस वर्ष रू. १ करोडभन्दा बढी पुर्याइएको हो । सञ्चालन नाफा पनि गत वर्ष रू. २ करोडभन्दा बढी रहेकोमा यस वर्ष रू. १ करोडभन्दा बढीमा सीमित भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. २८ करोड ८१ लाखभन्दा बढी रहेको छ । कम्पनीको शेयर प्रिमियममा रू. ४ करोड ५५ लाखभन्दा बढी, रिटेण्ड अर्निङ रू. ५ करोड ३६ लाखभन्दा बढी र जगेडा कोषमा रू. ८ करोड ३८ लाखभन्दा बढी रहेको छ ।
गत वर्षभन्दा ४ दशमलव ४२ प्रतिशत बढी रू. १ अर्ब २ करोड निक्षेप संकलन गरेको कम्पनीले गत वर्षभन्दा ४ दशमलव ३८ प्रतिशत बढी रू. ४ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ । पहिलो त्रैमाससम्म कम्पनीले रू. २ अर्ब ५५ करोडभन्दा बढी कर्जा सापटी लिएको छ ।
गत वर्ष १ दशमलव ८८ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर २ दशमलव ६० प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी रू. १० दशमलव ११ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. १५१ दशमलव २७ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।