समन शर्मा, अन्नपूर्णबाट फर्केर
हिमाली क्षेत्रका स्थानीय नागरिक बाहेक जो कोहीलाई पनि हिमाल हेर्ने रहर हुन्छ । अझ भनौ हिमालको काखैमा पुगेर त्यसलाई स्पर्श गर्ने चाहना धेरैको हुन्छ । मेरो रहर पनि त्यस्तै थियो । तर, यसलाई पूरा गर्न समय जुरेको थिएन ।
दशैं आउन एक हप्ता बाँकी रहँदासम्म पनि मैले अन्नपूर्ण सर्किट यात्रा गर्ने सोच बनाएको थिइनँ । एकाएक हिमालको काखमा जाने कुरा मनमा आयो । अनि छोटो समयमै अन्नपूर्ण सर्किट घुम्ने योजना बन्यो । त्यसपछि यसपालिको दशैं हिमालको काखमै बित्यो ।
दशैंअघि मात्रै मेरो बुबाले मलाई अमेरिकाबाट नयाँ साइकल उपहार ल्याइदिनु भएको थियो । नयाँ साइकल पाएपछि मलाई लामो दूरीको यात्रा गर्न मन थियो । तर कहाँ जाने भन्ने सोच्नै सकेको थिइनँ । एकाएक अन्नपूर्ण सर्किटका लागि मेरो यात्रा तय भयो । यो सर्किट लमजुङ सदरमुकाम बेँसीशहरबाट म्याग्दीको बेनीसम्म पर्छ, जुन २२० किमी लामो छ । तर मैले काठमाडौंबाट बेँसीशहरसम्म पनि साइकल यात्रा नै गरेँ ।
** पहिलो दिन, असोज १२ गते **
१२ केजीको साइकलमा १२ केजीकै झोला बोकेर निस्किएँ
असोज १२ गते बिहान ३ बजेदेखि नै मेरो यात्रा शुरू हुन्छ । १२ केजीको साइकलमा करीब १२ केजीकै झोला बोकेर म घरबाट निस्केको थिएँ ।
एउटा झोलामा साइकलका तीनओटा ट्युब, नटबोल्ट कस्ने औजार, चेनमा राख्ने तेल लगायत सामग्री राखेँ । अर्को झोलामा पाँच प्याकेट जीवनजल, केही थान चकलेट, प्रोटिन पाउडर, ज्याकेट र केही ‘फस्टएड किट’ राखेको थिएँ ।
मेरो लक्ष्य १८४ किलोमिटर टाढा रहेको लमजुङ सदरमुकाम बेँसीशहर पुग्ने थियो । बबरमहलबाट यात्रा शुरू गरेर ७३ किलोमिटर साइकल चलाएपछि मलेखुमा पुगेर विश्राम गरेँ । मेरो यात्रा मूल सडकबाटै भएको थियो । मलेखुमा खाजा खाएर मुग्लिन पुग्दा अत्यधिक गर्मी महसूस भयो । तर, मलाई धेरै बेर रोकिने छूट थिएन । किनकि मैले तय गरेको १८४ किलोमिटरको साइकल यात्रा मेरो जीवनकालकै सबैभन्दा दोस्रो लामो यात्रा थियो । यसअघि एकैदिनमा २०० किलोमिटरसम्म यात्रा गरेको अनुभव मसँग थियो ।
दिउँसो ४ बजिसक्दासम्म म तनहुँको आबुखैरेनीमै थिएँ । त्यहाँबाट अगाडि बढेपछि एउटा हाइड्रोपावर देखियो । शायद त्यो मर्स्याङ्दी जलविद्युत् आयोजना हुनुपर्छ । मैले यहाँ केही फोटो खिचेँ । तर पछि थाहा भयो– यहाँ फोटो खिच्न निषेध रहेछ ।
आयोजनाले बनाएको लिंकरोडबाटै म बेँसीशहरतर्फ लागेँ । बाटोमा ठाउँ ठाउँमा पहिरो गएका थिए । जंगल, झरना र खोलाको दृश्यले यात्रामा थकान महसूस हुन दिएन ।
१२ घण्टाको निरन्तरको यात्रापछि म बेँसीशहर पुगेँ । त्यहाँ होटल खोज्न नै एक घण्टा लाग्यो । बिहानको सूर्योदय देखिने गरी होटल र होटलको कोठा रोजेर वास बसेँ ।
** दोस्रो दिन, असोज १३ गते **
पहिलोपटक सुरुङभित्र साइकल चलाएँ, सुरुङबाटै हिमाल देखेँ
माउण्टेन साइकलयात्री भए पनि हिमशृंखलालाई नजिकबाट नियाल्ने अवसर भने मैले पाएको थिइनँ । यो मेरो पहिलो अनुभव पनि थियो । हामी वास बसेको होटलबाट हिमाल सहजै देखिँदैनथ्यो । त्यसकारण बिहानको खाजा खाएर होटलबाट निस्किएँ ।
बेँसीशहरबाट अघि बढ्दा पनि त्यहाँ अर्को हाइड्रोपावरका लागि बनाएको पहुँचमार्गबाटै अघि बढेँ । आयोजनाले पहुँचमार्ग बनाउँदा सुरुङ मार्ग पनि बनाएको रहेछ ।
सुरुङभित्र साइकल यात्रा । यो पनि मेरा लागि नयाँ अनुभव थियो । त्यसमाथि सुरुङभित्रैबाट हिमाल देखिएपछि त मनै चंगा भयो । हिजोको १८४ किलोमिटर साइकल यात्राको थकान क्षणभरमै गायब भयो ।
अघिल्लो दिन चिसोबाट गर्मी ठाउँ हुँदै पुनः चिसो ठाउँको यात्रा गरिएको थियो । तर, दोस्रो दिन जति यात्रा गरिन्थ्यो, त्यति नै चिसो बढ्दै जान्थ्यो । त्यसकारण दोस्रो दिन ५० किलोमिटर यात्रा गरेपछि बगरछापमा विश्राम गरेँ । त्यहाँ एउटा मात्रै राम्रो कटेज थियो । त्यही कटेजमा वास बस्ने निर्णय गरेँ । म पुग्नुभन्दा अघि दुईजना साइकलयात्री पहिले नै त्यहाँ पुगिसकेका रहेछन् ।
यसो हेर्दा तिब्बती जस्ता देखिने उनीहरू नेपाली नै रहेछन् । बेलुकी गफिँदै जाँदा थाहा भयो, उनीहरूले पनि मलाई मेक्सिकन साइकलयात्री ठानेका रहेछन् । उनीहरू बेँसीशहरसम्म बसमा साइकल राखेर आएका रहेछन् । बेँसीशहरबाट अगाडि मात्रै साइकलमा आएका रहेछन् । जे होस्, यहाँबाट हामी एकअर्काका सहयात्री बन्यौं ।
** तेस्रो दिन, असोज १४ गते **
५०० मिटरको उचाइ लिनुपर्ने, ८०० मिटरको उचाइ लिएँ
नेपालमा साइक्लिङ गर्ने राम्रा रूटहरू धेरै छन् । तीमध्ये उत्कृष्ट रूट हो अन्नपूर्ण सर्किट । नेपालमा साइक्लिङ गर्ने अधिकांश साइकलयात्री यहाँ पुग्ने गरेका छन् । यहाँबाट मनाङसम्मै राम्रो साइकल रूट छ ।
उच्च स्थानमा जाँदा ‘एक्लोमेटाइज’ हुने हुँदा ५०० मिटरको उचाइ लिएपछि रोकिनु राम्रो हुन्छ । तर म दैनिक ८०० मिटरको उचाइमा पुगेर रोकिन्थेँ ।
जति जति माथि पुग्थेँ, त्यति त्यति उकालो बाटो आउँथ्यो । त्यसपछि मेरो साइकलयात्रा छोटिँदै गयो । उकालो बाटोमा विपरीत दिशाबाट बेजोडसँग चल्ने हावाले पनि यात्रामा चुनौती थपिरहेको थियो । यो दिन ३० किलोमिटर जति साइकल यात्रा गरेर म पिसाङमा वास बसेँ ।
** चौथो दिन, असोज १५ गते **
हिमाली मृगले घाम तापेको दृश्य हेर्दा
अन्नपूर्ण सर्किटको सबैभन्दा राम्रो पक्ष भनेको जहाँ रात पर्छ, त्यहाँ वास बस्न सकिन्छ । त्यहाँ बस्न कुनै समस्या हुँदैन । यहाँका होटल तथा लजहरू पनि स्तरीय छन् ।
मेरो यात्राको अन्तिम गन्तव्य थोरङ्ला थियो । उचाइको हिसाबले यो अन्तिम पोइन्ट भए पनि यहाँबाट ‘माउण्टेन भ्यू’ त्यति आकर्षक देखिँदैन भन्ने सुनेको थिएँ । त्यसैले यसभन्दा अघि नै पर्ने फेदी हाई क्याम्पबाट हिमशृंखला हेर्ने निर्णय गरेँ ।
फेदी क्याम्पबाट हिमशृंखला निकै मनमोहक देखिन्छ । प्रायः मानिसहरू सीधै थोरङ्ला पुग्छन् । तर, फेदीबाट १०० मिटर पिकतर्फ जाँदा यहाँबाट हिमचुली पानोरामा देख्न सकिन्छ । संयोगवश, यहाँ हिमाली मृगले घाम ताप्दै गरेको पनि देख्न पाइयो ।
** पाँचौं दिन, असोज १६ गते **
११ बजेपछि जानै नहुने ठाउँमा १ बजे पुग्दा
यात्राकै सबै भन्दा उचाइको वास ४ हजार ५०० मिटर उचाइमा रहेको लेधारमा भयो । यहाँ भने हाईअल्टिच्युटको सामान्य असार शरीरले महसूस गर्यो । यो मनाङतर्फको बेसक्याम्प रहेछ । यहाँ मनाङ सदरमुकाम हुँदै पनि आउन सकिन्छ । यहाँ बिजुली र सञ्चार भने छैन । करीब एक दिन सञ्चारविहीन भएरै बिताइयो ।
यहाँ एक प्लेट खानाकै १ हजार २०० रुपैयाँ पर्ने रहेछ । अर्को अचम्मको कुरा– भने यति चिसो ठाउँमा पनि कोकाकोलाको व्यापार हुँदो रहेछ । यो सर्किटमा सबैभन्दा धेरै इजरायली पर्यटक भेटिने रहेछन् । उनीहरू एड्भेन्चर स्पोर्टसमा रुचि राख्ने भएकाले यो रूट उनीहरूको रोजाइमा परेको हुनुपर्छ ।
स्थानीय होटल सञ्चालकका अनुसार इजरायलीहरू अलि बढी जोस्सिने, होहल्ला गर्ने खालको हुन्छन् रे । एकजना इजरायलीले आफू यहाँ चौथोपटक आएको सुनाए । यसपटक भने उनी दुईजना साना छोराछोरी र श्रीमतीसहित आएका थिए । उनी सँग गफिँदै गर्दा उनको श्रीमतिले चर्को स्वरमा उनलाईन बोलाउँछन् । उनको सानो छोराले मोबाइल हराएर आएका रहेछन् । उनले मसँग बिदा मागे र मोबाइल खोज्न पुनः तल झरे ।
थोरङ्ला पिकमा एक्लो मान्छे
थोराङ्लामा एउटा सानो चिया पसल छ । एकजना २५ वर्षीय युवा जागीरका लागि त्यो ठाउँमा एक्लै बसेर काम गर्छन् । उनलाई मासिक ३० हजार रुपैयाँ तलब पाउने गरी काममा राखिएको रहेछ । ५ हजार ४२० मिटरको उचाइमा चिया बेच्ने उनीसँग एकछिन गफिँदा उनका अनुभव सुन्ने मौका पाइयो ।
दिनको १ बजेपछि ढोका बन्द गरी भित्रै बस्नुपर्ने रहेछ । बिजुली, सञ्चार केही पनि नभएको ठाउँमा उनले मुश्किलले ४/५ घण्टा मानिसहरूलाई चिया बेच्न पाउँछन् । बाँकी समय घरभित्र आगो तापेर बस्ने रहेछन् ।
चिसो हावा वेगले चल्ने भएकाले ११ बजेपछि यस ठाउँमा जानु मूर्खता हुन्छ । तर संयोगवश त्यो दिन म १ बजे पुग्दा पनि हावा चलेको थिएन ।
** छैटौं दिन, असोज १७ गते **
दिनभर सम्पर्कविहीन हुँदा
थोराङ्लाबाट अगाडि बढेपछि भने मुस्ताङको कागबेनीतर्फको यात्रा शुरू हुन्छ । यता बाटो केही खराब छ । ओरालो बाटोमा साइकल यात्रीलाई सानो गल्ती गर्ने पनि छूट छैन । सानो गल्तीले पनि जिन्दगीको इहलीला समाप्त हुन सक्छ ।
यहाँ आपत्कालीन उद्धार पनि मुश्किल छ । सञ्चार सम्पर्क नहुने क्षेत्र भएकै कारण हेलिकोप्टरको पहुँच समेत सहज छैन । म १ दिन सञ्चारबाट वञ्चित भएँ । यहाँ साइकल चलाउनु जोखिमपूर्ण हुने भएकाले डोर्याएरै अघि बढेँ ।
यता पनि अर्को फेदी छ । यतापट्टि आएपछि हाईअल्टिच्युटका कारण साइकलमा ब्रेक र सस्पेन्सनमा समस्या आउने गर्छ भन्ने सुनेको थिएँ । मेरो साइकलले भने साथ दियो । शायद नयाँ भएर होला ।
जोमसोम पुगेपछि मुक्तिनाथ पुग्नुपर्छ भनिन्छ । अत्यधिक चिसोको कारण नुहाउन सक्ने अवस्था थिएन । मुक्तिनाथको पानी वास बसेकै होटलमा आउने भएपछि त्यहीँ नुहाएँ ।
** सातौं दिन, असोज १८ गते **
काठमाडौं–बेँसीशहरपछिकै लामो यात्रा
यो दिन भने मैले काठमाडौं–बेँसीशहरपछिकै लामो यात्रा गरेँ । कागबेनीबाट एकैदिन पोखरासम्मको यात्रा गरियो । जोमसोमदेखि घाँसासम्मको केही पक्की त केही कच्ची बाटोको यात्रा । त्यसपछि शुरू भयो हिलाम्मे र धुलाम्मे बाटो हुँदै म्याग्दीको बेनीसम्मको यात्रा । अनि पोखराको यात्रा त छँदै छ ।
दशैंको रौनकसँगै सोही दिनदेखि वर्षा शुरू भयो । लुम्ले नपुग्दै मुसलधारे पानी पर्यो । लुम्लेमै भेटिएका एकजना भारतीय साइक्लिङ प्रशिक्षकसँग साइक्लिङकै बारेमा केही कुराकानी गर्ने मौका पाइयो । नेपालमा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रयोजनका लागि आएका रहेछन् उनी । सुनेको जस्तै सुन्दर तस्वीर लिन नसके पनि ‘मुटु छुने लुम्लेको हावा’को स्पर्श लिएर जसोतसो पोखरा पुगेँ ।
पोखरा पुगेपछि ठूलो पानी पर्यो, जसकारण मेरो यात्राको आठौं र नवौं दिन अर्थात् असोज १८ र १९ गते पनि पोखरामै बित्यो । असोज २० गते १०औं दिनको यात्रा पोखराबाट तनहुँको बन्दीपुरसम्म भयो । बन्दीपुरबाट भने असोज २१ गते काठमाडौंका लागि हिँडेँ । यसपटक ५०० किलोमिटरभन्दा बढी साइकल यात्रा गरेर ११औं दिनको साँझ घर आइपुगेँ ।
समग्रमा माउन्टेन साइक्लिङप्रतिको मोह, असीम उत्साह र दरिलो आत्मविश्वासका साथ शुरू गरिएको अन्नपूर्ण सर्किटको यात्रा अविस्मरणीय रह्यो । हुन त यात्रा सोचेजस्तो सजिलो पक्कै हुँदैन । तर चुनौतीलाई सामना गर्ने आँट, आफैप्रतिको भरोसा र सहकर्मीको साथले यात्रा सफल बनाउन सकिन्छ । अन्नपूर्ण सर्किटमा मेरो साइकल यात्रा यसैको उदाहरण थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।