नेष्डो समृद्ध लघुवित्तको नाफा बढ्यो 

Share News

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बुधवार सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा नाफा ११ दशमलव ३० प्रतिशतले वृद्धि भएको हो । 

गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले उक्त अवधिमा खुद ब्याज आम्दानीबापत ९ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

त्यसैगरी कम्पनीले ८ करोड ९६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष यस्तो नाफा ८ करोड ५ लाख रुपैयाँ थियो । कर्मचारीको तलबभत्तामा हुने खर्च भने घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको कर्मचारीको तलबभत्तामा २ करोड ४९ लाख रुपैयाँ खर्च भएको थियो भने चालू आर्थिक वर्षको सो आवधिमा घटेर २ करोड ४८ लाख रुपैयाँमा झरेको छ । 

कम्पनीले असोज मसान्तसम्म ४ अर्ब ७० करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ भने २ अर्ब ५५ करोड २५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट उक्त अवधिमा यो कम्पनीले ४० करोड ८३ लाख रुपैयाँ सापटी लिएको छ । 

कम्पनीको चुक्तापुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा ६३ करोड ७ लाख रुपैयाँ जम्मा गरेको छ । हाल कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८८ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ ३४७ रुपैयाँ ३५ पैसा रहेको छ । गत वर्षको तुलनामा कम्पनीको निष्क्रिय कर्जा घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनीको निष्क्रिय कर्जा ७ दशमलव ३२ प्रतिशत थियो भने अहिले घटेर ४ दशमलव ४१ प्रतिशत कायम भएको छ । 

कम्पनीले देशका विभिन्न १२ जिल्लामा ५६ ओटा शाखा कार्यालयमार्फत वित्तीय सेवा दिँदै आएको छ । यस संस्थाबाट प्रवाह हुने वित्तीय सेवा लिने सदस्यको संख्या ७८ हजार २३९ रहेको वित्तीय विवरणमा उल्लेख छ ।  

वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।