काठमाडौं । नेपालमा पछिल्लो २२ दिनमा मात्रै ६ पटक भूकम्प गएको छ । यही कात्तिक २ गतेदेखि २३ गतेसम्म गरी बागमती र सुदूरपश्चिमका प्रदेशका विभिन्न ठाउँमा ६ पटक भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार यो अवधिमा ४ रेक्टर स्केलभन्दा माथिका ६ ओटा भूकम्पका धक्का मापन गरिएको छ । कात्तिक २ गते दिउँसो ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको भूकम्प ५.९ रेक्टर स्केलको थियो । सोही दिन ३ बजेर ५३ मिनेटमा पुनः सिन्धुपाल्चोक नै केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
सिन्धुपाल्चोकपछि सुदूरपश्चिम प्रदेशलाई केन्द्रविन्दु बनाएर ४ पटक भूकम्प गइसकेको भूकम्प मापन केन्द्रले बताएको छ ।
कात्तिक १३ गते बझाङ जिल्लालाई केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो भने मङ्गलवार राति मात्रै ३ पटक भूकम्प गएको थियो । ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प डोटी केन्द्रविन्दु बनाएर गएको थियो भने ९ बजेर ५६ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्पन सुदूरपश्चिमको खप्तडमा केन्द्रविन्दु बनाएर गएको थियो । त्यसपछि लगातार सानातिना भूकम्पका धक्का महसुस भइरहेका छन्।
मङ्गलवार मध्यराति २ बजेर १२ मिनेटमा शक्तिशाली भूकम्प जाँदा डोटीमा ६ जनाले ज्यान गुमाए भने ५ जना घाइते भएका छन् । त्यस भूकम्पले सुदूरपश्चिमका पहाडी जिल्लामा सयौँ घर क्षतिग्रस्त भएको बताइएको छ । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।