जोखिम व्यवस्थापनमा धेरै रकम छुट्याउँदा धौलागिरी लघुवित्तको नाफा घट्यो 

Share News

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५३ प्रतिशत घटेको छ ।

कम्पनीले गत आवमा रू. ९७ लाख ३२ हजार नाफा कमाएकोमा चालू आवमा रू. ४५ लाख ५५ हजारमा सीमित भएको छ । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा घटेको र कम्पनीले सम्भावित जोखिमा बापतको व्यवस्थापनमा धेरै रकम छुट्याएकाले नाफा घटेको हो ।

कम्पनीले गत आवमा सम्भावित जोखिम बापतको व्यवस्थापनमा रू. ८५ लाख ८४ हजार छुट्याएकोमा चालू आवमा रू. १ करोड ४५ लाख छुट्याएको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा ८८ प्रतिशत घटेको हो । 

चुक्तापूँजी रू. १० करोड ३१ लाख रहेको कम्पनीले जगेडामा रू. ६ करोड ५८ लाख सञ्चित गरेको छ । जगेडा कोष गत आवको तुलनामा चालू आवमा ३६ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत वर्ष जगेडामा रू. ४ करोड ८१ लख सञ्चित गरेको थियो ।

चालू आवमा रू. ६१ करोड ३० लाख सापटी र रू. ६७ करोड २६ लाख निक्षेप संकलन गरेको कम्पनीले रू. १ अर्ब ४३ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ६७ वार्षिक, मूल्य आम्दानी अनुपात १० दशमलव १७ गुणा (वार्षिक) र प्रतिशेयर नेटवर्थ रू. १६३ दशमलव ८३ रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।