लघुवित्तबाट विमुख रहेको लक्षित वर्ग

Share News

गरीबी र अशिक्षाका कारण विपन्न तथा न्यून आय भएको वर्ग स्थानीय मीटरब्याजीबाट पीडित हुँदै आएका छन् । विशेषगरी तराई क्षेत्रका विपन्न वर्ग यस्ता मीटरब्याजीका चक्रवृद्धि ब्याज र जालसाझीपूर्ण व्यवहारबाट पीडित भई घरबारविहीनको अवस्थामा पुगेका छन् । पछिल्लो समय पीडितहरूले खुलेरै मीटरब्याजीविरुद्ध आन्दोलन गरिरहेको विषय दिनहुँजसो पत्रपत्रिका एवम् सामाजिक सञ्जालमा आउने गरेको छ । स्थानीय जिल्ला प्रहरी कार्यालयदेखि राजधानीसम्म मीटरब्याजी विरुद्धको आन्दोलन चलिरहेको छ । यसै सिलसिलामा दशैंअघि राजधानीको माइतीघर मण्डलामा उनीहरूले चलाएको धर्ना कार्यक्रमका कारण सरकारले उनीहरूको माग सम्बोधन गर्ने उद्देश्यले अध्ययन समितिसमेत गठन गरेको छ ।

वास्तविक लक्षित वर्गका रूपमा रहेका मीटरब्याजीबाट पीडित वर्गलाई लघुवित्त वित्तीय संस्थासँग आबद्ध गरी लघुवित्तीय पहुँचको माध्यमबाट उनीहरूको आर्थिक/सामाजिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउनुपर्ने देखिन्छ ।

गत जेठ अन्तिम सातादेखि सडक आन्दोलनमा रहेका मीटरब्याजीपीडितले राजविराज सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयअगाडि पटकपटक नाराबाजीसहित प्रदर्शन गर्दै आएको विषय हालसालै सार्वजनिक भएको छ । मीटरब्याजी रामदेव साह तेलीलाई पक्राउ गरेर कारबाही गरी पीडितलाई न्याय दिनुपर्ने उनीहरूको माग रहेको छ । ५ महीनाको अवधिमा पीडितहरूले साहविरुद्ध चौधौंपटक आन्दोलन गरिसकेका छन् । स्थानीय शीतल यादवले छोरालाई वैदेशिक रोजगारमा पठाउन जग्गा धितो राखेर रू. २ लाख ७० हजार ऋण लिएको र त्यसबापत रू. १२ लाख भुक्तानी गरिसक्दा पनि रू. ४४ लाख तिरेपछि मात्र धितो राखेको जग्गा फिर्ता हुने मीटरब्याजीले भन्दै आएको कुरा ऋणीले व्यक्त गरेका छन् । त्यसैगरी निज मीटरब्याजीले जालसाजीपूर्वक घरजग्गा हडपेर अर्का स्थानीय तैयब अलीलाई सुकुमबासी बनाएको समाचार पनि सार्वजनिक भएको छ । यी त प्रतिनिधि घटना मात्र हुन्, यस्तो घटनाको संख्या यकीन नभए पनि उल्लेख्य रहेको अनुमान गर्न सकिन्छ । यसरी मीटरब्याजीले विपन्न वर्गका सर्वसाधारणलाई जालसाजीपूर्ण तवरले पीडित बनाउने क्रम रोकिनुको सट्टा निरन्तर
चलिरहेको छ ।

मुलुकमा वित्तीय पहुँचको अवस्था कमजोर रहेका बेला आर्थिक रूपले विपन्न तथा न्यून आय भएको वर्ग वित्तीय पहुँचबाट पूर्ण रूपले विमुख रहेको थियो । यिनै वर्गलाई वित्तीय पहुँचको माध्यमबाट आयमूलक क्रियाकलापमा संलग्न गराई उनीहरूको आर्थिक अवस्था सुधार्ने उद्देश्यले लघुवित्तको अवधारणालाई अवलम्बन गरिएको हो । त्यहीअनुरूप सरकारी प्रयासमा पाँचै विकास क्षेत्रमा ग्रामीण विकास बैंकको स्थापना भयो । त्यसैबीच निजीक्षेत्रबाट लघुवित्त वित्तीय संस्थाहरू खोल्ने अभियान शुरू भएसँगै मुलुकव्यापी रूपमा लघुवित्त सेवा विस्तार भइसकेको छ । प्राप्त पछिल्लो तथ्यांकअनुसार मुलुकभरका ५८ लाखभन्दा बढी सदस्यलाई लघुवित्त क्षेत्रले समेटेको छ । लघुवित्त वित्तीय संस्थाले शाखा विस्तार गर्ने क्रममा शहरोन्मुख ग्रामीण क्षेत्र, राजमार्ग वरपर र तराई क्षेत्रलाई प्राथमिकता दिएकाले यी क्षेत्रमा लघुवित्तीय सेवाको पहुँच बढी र पहाड तथा हिमाली क्षेत्रमा न्यून रहेको पाइन्छ ।

मीटरब्याजीबाट पीडित वर्ग लघुवित्तका वास्तविक लक्षित वर्ग हुन् । अशिक्षा, कमजोर वित्तीय चेतना र गरीबीका कारण यो वर्गले संस्थागत लघुवित्तीय सेवाको पहुँचबाट वञ्चित रहनु परेकाले दैनिक जीविकोपार्जनका साथै विभिन्न आयमूलक गतिविधि सञ्चालन गर्न आवश्यक पर्ने सानोसानो रकमको जोहो गर्न स्थानीय साहूमहाजनकहाँ जान बाध्य हुँदै आएका छन् । गरीबीले आक्रान्त वर्गलाई विगतदेखि नै चक्रवृत्ति ब्याज र ऋणको नक्कली कागजात बनाई उनीहरूलाई उठीबास लगाएर आफू धनी बन्न पल्केका मीटरब्याजीहरूले यो वर्गको बिचल्ली बनाउँदै आएका छन् । यस्ता मीटरब्याजीहरूको गतिविधि पहाड तथा हिमाली क्षेत्रमा भन्दा तुलनात्मक रूपमा तराई क्षेत्रमा बढी रहेको पाइन्छ ।

गरीब र न्यून आय भएको वर्गलाई वित्तीय पहुँचको माध्यमबाट स्वरोजगारी विकास गर्ने उद्देश्यले स्थापित लघुवित्त वित्तीय संस्थाहरूको उपस्थिति तराई क्षेत्रमा उल्लेख्य रहेको पाइन्छ । सैद्धान्तिक रूपमा लघुवित्त वित्तीय संस्थाले लक्षित वर्गको पहिचान गरी उनीहरूलाई आधारभूत तहको वित्तीय शिक्षा प्रदान गरी समूहमा आबद्ध गरेर सामूहिक जमानीमा क्रेडिट प्लसका कार्यक्रम सञ्चालन गर्ने गर्छन् । यसरी प्रदान गरिएको कर्जाबाट लक्षित वर्गले विभिन्न आयमूलक व्यवसाय सञ्चालन गरी आफ्नो आर्थिक/सामाजिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखिएको हुन्छ । यति हुँदाहुँदै लघुवित्त वित्तीय संस्थाको उपस्थिति २१ प्रतिशत (दोस्रो स्थान) रहेको मधेश प्रदेशमा लघुवित्त वित्तीय संस्थाले वास्तविक विपन्न वर्गलाई समेटेर उनीहरूको वित्तीय आवश्यकतालाई पूरा गर्न नसकेको देखिन्छ । यदि आफ्नोे आवश्यकता पूरा हुन सकेको भए सानोसानो रकमका लागि यो वर्ग मीटरब्याजीको शरणमा जाने क्रमले निरन्तरता पाउँदैनथ्यो । मधेश प्रदेश त एउटा उदाहरण मात्र हो, तराई क्षेत्रका अधिकांश अतिविपन्न वर्ग यस्तै अवस्थाबाट पीडित रहँदै आएका छन् ।

राज्यद्वारा गरीब तथा विपन्न वर्गलाई प्रदान गरिने सामाजिक भत्ता तथा सुविधा लघुवित्त वित्तीय संस्थामार्फत वितरण गर्ने सरकारी योजना बजेटमार्फत हरेक वर्ष सार्वजनिक हुँदै आएको छ । सरकारद्वारा व्यक्त गरिएका योजनालाई मूर्त रूप दिन लघुवित्त वित्तीय संस्थाले गरीब तथा विपन्न वर्गलाई आफूसँग आबद्ध गर्नुपर्छ । तर, आफ्नो अनुकूल हुनेगरी लघुवित्तीय सेवा विस्तार गरेकाले उल्लेख्य रूपमा लघुवित्त वित्तीय संस्थाको उपस्थिति रहेको क्षेत्रमा समेत वास्तविक लक्षित वर्ग लघुवित्तीय सेवाबाट वञ्चित रहँदै आएको देखिन्छ । यसरी मुलुकव्यापी रूपमा मीटरब्याजीबाट पीडित लक्षित वर्गको तथ्यांक यकीन हुन नसके पनि तराई क्षेत्रमा यस्तो संख्या उल्लेख्य रहेको देखिन्छ ।

मुलुकको सन्तुलित विकासका लागि गरीबी सबैभन्दा ठूलो बाधकका रूपमा रहेको हुन्छ । त्यसैले हरेक मुलुकले गरीबी निवारणको लागि विभिन्न कार्यक्रम सञ्चालन गरेका हुन्छन् । नेपालले गरीबी निवारणका लागि अवलम्बन गरेको विभिन्न कार्यक्रममध्ये लक्षित वर्गसम्म लघुवित्तीय सेवाको पहुँच विस्तार गर्ने एउटा महŒवपूर्ण कार्यक्रम हो । तसर्थ, लघुवित्त वित्तीय संस्थाले मुलुकका वास्तविक लक्षित वर्गको सही पहिचान गरी वित्तीय पहुँचमार्फत उनीहरूलाई गरीबीको दुश्चक्रबाट माथि उठाउन सहयोग गर्नुपर्छ । यसका लागि वास्तविक लक्षित वर्गका रूपमा रहेका मीटरब्याजीबाट पीडित वर्गलाई लघुवित्त वित्तीय संस्थासँग आबद्ध गरी लघुवित्तीय पहुँचको माध्यमबाट उनीहरूको आर्थिक/सामाजिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउनुपर्ने देखिन्छ ।

लेखक लघुवित्त क्षेत्रका जानकार व्यक्ति हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।