काठमाडौं (अस) । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नागरिक लगानी कोषले रू. २३ करोड २७ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्ष कोषको खुद नाफा १७ दशमलव ९९ प्रतिशत बढेको छ । गत वर्ष यस अवधिसम्म कोषले रू. १९ करोड ७२ लाखभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।
यस वर्ष कोषको कुल आम्दानी १७ दशमलव ९५ प्रतिशतले बढेको छ । गत वर्ष रू. ३३ करोड ९७ लाख रहेको कुल आम्दानी रकम यस वर्ष रू. ४० करोड ६ लाखभन्दा बढी भएको छ । कुल खर्च पनि यस वर्ष १७ दशमलव ८० प्रतिशतले वृद्धि भएको छ । गत वर्ष रू. ७ करोड ६७ लाखभन्दा बढी कुल खर्च गरेको कम्पनीले यस वर्ष रू. ९ करोड ३ लाखभन्दा बढी कुल खर्च गरेको छ ।
३० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. ४ अर्ब २५ करोड १० लाख पुरर्याएको कम्पनीको शेयर प्रिमियममा ७७ दशमलव ५६ प्रतिशत कम रू. २८ करोड ३८ लाख रकम कायम भएको छ ।
कोषले यो त्रैमासमा रू. १ खर्ब ९९ अर्ब ३६ करोडभन्दा बढी लगानी गरेको छ । यो लगानी रकम गत वर्षको यसै अवधिसम्म रू. १ खर्ब ७८ अर्ब ६५ करोड रहेको थियो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २१ दशमलव ९० रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १८९ दशमलव शून्य ५ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।