काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकको शेयर कारोबार फुकुवा गरेको छ ।
नेप्सेले दुबै कम्पनीको आधारभुत शेयरधनी बाहेक अन्य शेयर कारोबार फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि मेगा बैंक र नेपाल इन्भेष्टमेण्टबैंकले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका थिए । सोही अनुसार यी दुबै कम्पनीको शेयर कारोबार आगामी मंगलवारदेखि हुने छ ।
यी दुबै कम्पनीले मर्जरका लागि सम्झौता गरेपछि गत जेठ ३० गतेदेखि शेयर कारोबार रोक्का रहेको छ । यसअघि नै नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकले १००ः९० शेयर स्वाप रेसियोमा मर्ज हुन सम्झौता गरिसकेका छन् । अर्थात् मेगा बैंकको १०० कित्ता हुने शेयरधनीले मर्जरपछि बन्ने बैंकको ९० कित्ता शेयर प्राप्त गर्नेछन् ।
मर्जरपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाममा एकीकृत कारोबार हुनेछ । यी दुई कम्पनीलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।