काठमाडौं–७ मा मतगणना शुरु, कसले मार्ला बाजी ?

Share News

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को मतगणना शुरु भएको छ । काठमाडौं महानगरपालिका–१६, नयाँबजारस्थित जुडो हलमा मतगणना शुरु गरिएको हो । सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् । 

चार स्थानमा मतगणना शुरु गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ । मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेका छन् । 

मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको निर्वाचन अधिृकत श्रेष्ठले जानकारी दिइन् । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक/एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ । 

कसले मार्ला बाजी ?

सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराई, नेकपा (एमाले)का श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा छन् । यीमध्ये कसले बाजी मार्ला ? याे आमचासोकाे विषय बनेकाे छ । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आइतवार देशभर मतदान भएको थियो । सो क्षेत्रमा करिब ६० प्रतिशत मत खसेको आयोगले जनाएको छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।