काठमाडौं । ललितपुरका तीन ओटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालले अग्रता बनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत मतगणनाको प्रारम्भिक नतिजा अनुसार ललितपुर–१ मा एमाले उम्मेदवार नवराज सिलवाल ६६७ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली कांग्रेसका उदयशम्शेर जबराले ४०१ मतसहित पछ्याइरहेका छन् ।
ललितपुर–२ मा पनि एमालेकै उम्मेदवार प्रेमबहादुर महर्जनले १३१७ मतसहित अग्रता बनाएका छन् । उनलाई पछ्याइरहेका छन्, हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले । उनले १०९७ मत ल्याएका छन् ।
ललितपुर–३ मा पनि एमाले उम्मेदवार अमृत खड्काकै अग्रता छ । उनले ५१३ मत ल्याउँदा दाेस्राे स्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले ४९८ मत ल्याएकी छन् ।
ललितपुरमा अग्रता बनाएको एमालेले सोमवार बिहानसम्म देशभर सबैभन्दा बढी स्थानमा अग्रता बनाएको छ । उसले ललितपुरका ३ क्षेत्रसहित देशभरका ६ स्थानमा अग्र स्थानमा छ । एमालेपछि कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले समान २ स्थानमा अग्रता बनाएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आइतवार मतदान भएकाे थियाे ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।