राप्रपामा चुनाव जित्न कसलाई सहज, कसलाई असहज ? 

Share News

काठमाडौं । देशभर जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ६ स्थानमा अग्रता बनाएको छ । झापा–३, नवलपरासी–२, बाँके–२ र जुम्ला–१ मा राप्रपाका उम्मेदवारहरूको मतान्तर फराकिलो छ । अहिलेसम्मको मत परिणामका आधारमा यी ४ स्थानमा राप्रपाको जित्ने सम्भावना देखिएको छ । यद्यपि, अहिले नै कसले जित्छन् भन्न सकिने अवस्था छैन । 

राप्रपा जित्ने सम्भावना देखिएको निर्वाचन क्षेत्र हो, झापा–३ । सो क्षेत्रमा पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले १२ सय मतको अग्रता गरेका छन् । उनले ४ हजार ३८४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाको मत ३ हजार १५८ छ । 

बाँके–२ पनि राप्रपाले जित्ने सम्भावना भएको अर्काे क्षेत्र हो । सो क्षेत्रमा पार्टी महामन्त्री धवलशम्शेर जवरा दोब्बर मतसहित अग्रस्थानमा छन् । उनले ६ हजार ८०३ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईको मत ३ हजार ४१३ छ । नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले जम्मा ९४८ मत मात्रै पाएका छन् । 

नवलपरासी–२ मा पनि राप्रपाका ध्रुवबहादुर प्रधान भारी मतान्तरले अगाडि छन् । प्रधानले ३ हजार ७१२ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका देवेन्द्रराज कँडेलले १ हजार २६२ मत मात्रै पाएका छन् । 

राप्रपाबाट फराकिलो मतान्तरले अगाडि रहेका उम्मेदवार हुन्, ज्ञानेन्द्र शाही । जुम्ला–१ बाट चुनाव लडेका उनले ४ हजार ९१ मत ल्याएका छन् । सो क्षेत्रबाट दोस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी गोमा गौतम (कुँवर)को मत जम्म १ हजार ४४९ मात्रै छ । शाही र गौतमको मतान्तर २ हजार ६४२ छ । 

राप्रपाले चितवन–३ र तेह्रथुम–१ मा पनि अग्रता बनाएको छ । तर, ती क्षेत्रमा उसका उम्मेदवारहरू झिनो मतान्तरले मात्रै अगाडि छन् । 

अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार राप्रपाका चर्चित नेता हारको संघारमा छन्, जसमा मकवानपुर–१ का उम्मेदवार दीपक सिंह छन् । 

सो क्षेत्रमा सिंह भने भारी मतान्तरले पछाडि छन् । सो क्षेत्रमा कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ले ६ हजार ५८ मतसहित लिड गर्दा सिंहको मत १ हजार १७९ छ । सो क्षेत्रमा सूर्य चिह्नबाट चुनाव लडेका राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापा दोस्रोमा छन् । उनको मत संख्या ४ हजार १७४ छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।