अर्जेन्टिनालाई मेसीले जिताउलान् विश्वकप ? 

Share News

दोहा (कतार) । आधुनिक युगको महान खेलाडी लियोनल मेसी हुन् कि क्रिष्टियानो रोनाल्डो को हुन् ? गएको दशकमा यी दुवै जना सर्वाधिक उत्कृष्ट खेलाडी हुन् भन्दा अतिशयुक्ति हुन्न । आश्चर्यको कुरा यही हो कि फुटबल भन्नेबित्तिकै सबैको दिमागमा मेसी र रोनाल्डोकै तस्वीर आउँछ । तर, यसमा स्पष्ट विजेता कोही छैनन् । 

एक जना अति नै प्रतिभाशाली छन् अनि अर्कालेचाहिँ आफ्नो शीपले आफूलाई पूर्णतामा पुर्याएका छन् । क्लब फुटबलमा यी दुवै निकै चम्किएका खेलाडी हुन् । तर, यी दुवै खेलाडीले आफ्नो देशका लागि विश्वकप उचाल्न पाएका छैनन् । यो विश्वकप मेसीको अन्तिम विश्वकप हुनेछ । आफ्नो जादू देखाउने उनको लागि यो अन्तिम मौका पनि हो । 

आफू अलि बढी परिपक्व भएको अनि धेरै खुसी नभएपनि राम्रो महसुस गरिरहेको मेसीले दोहामा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए । यो आफ्नो अन्तिम विश्वकप हुने भएकोले पनि आफूले यो अनुभवको मजा लिन चाहेको उनको भनाइ थियो । 

मेसीको फिटनेशबारे पनि कयौं समाचारहरू आइरहेका छन् । तर, उनले आफूले पूर्णरूपमा स्वस्थ रहेको बताइरहेका छन् । क्लब स्तरमा अभूतपूर्व सफलता हासिल गरेका मेसीका लागि विश्वकप नजित्ने महान खेलाडीको दाग मेटाउन पर्ने दबाब अहिले छ । 

मेसीले विश्वकप जित्न सकेनन् भने त्यो अन्याय नै हुने केही दिनअगाडि स्पेनी प्रशिक्षक लुइस एनरिकेले भनेका थिए । हुन त सातपल्टको बालोन डी’अर विजेताका मेसीका लागि अहिले समय र अवसर दुवै घर्किरहेको छ । मेसी पाँचौं पटक विश्वकप खेलिरहेका छन् । अन्तिम भएकोले पनि यो विश्वकप उनको लागि अति नै महत्त्वपूर्ण हो । 

मेसीसामु अहिले विश्वकप जित्ने सबैभन्दा राम्रो अवसर पनि छ । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिना विश्वकपको फाइनलसम्म पुग्यो । तर, दुर्भाग्य जर्मनीसँग १–० ले पराजित भयो । अझ सन् २०१६ तिर अन्तरराष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेर पुनरागमन गरेको मेसीले कोपा अमेरिकाको अन्तिममा आयोजक देशलाई हराएर अर्जेन्टिनाका लागि २८ वर्षयता पहिलो उपाधि जिताउन सफल भए । 

यस पटकको विश्वकपका सम्भावित विजेतामा अर्जेन्टिना बलियो दाबेदार हो । समूह सीमा अर्जेन्टिनाका लागि यस पटक निकै सजिलो हुने अनुमान गरिएको छ । मंगलबार अर्जेन्टिनाले आफ्नो पहिलो खेल साउदी अरेबियाविरुद्ध खेल्दै छ । त्यसपछिका अन्य दुई खेलमा मेक्सिको र पोल्यान्डको सामना हुनेछ । 

अर्जेन्टिना उपाधिका लागि निकै बलियो प्रत्याशी भएको गत हप्ता पोल्यान्डका फरवार्ड रोबर्ट लिवान्डोस्कीले भनेका थिए । अर्जेन्टिना पछिल्ला ३० खेलमा अपराजित रहँदै आएको छ । मेसीकै लागि भएपनि अर्जेन्टिनाले विश्वकप जितोस् भन्ने चाहनेहरू धेरै छन् । मेसीले आफ्नै नाम जोगाउन भएपनि विश्वकप जित्नै पर्छ । उनले अहिले जितेनन् भने कहिले जित्ने ? एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।