काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा अग्रता हासिल गरेको नेपाली कांग्रेसले प्रदेशसभामा पनि अग्रता बनाएको छ । उसलाई नेकपा एमालेले पछ्याइरहेको छ ।
प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ५० सिट जितेको छ भने एमाले ४८ क्षेत्रमा विजयी भएको छ । यस्तै, नेकपा माओवादी केन्द्रले १६ क्षेत्रमा जित्दा नेकपा एकीकृत समाजवादीका उम्मेदवार भने १० क्षेत्रमा विजयी भएका छन् । यस्तै, राप्रपाले ८ सिटमा जित हासिल गरेको छ ।
प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा दरिलो उपस्थिति देखाएको राष्ट्रिय स्वतन्त्र पार्टी भने प्रदेशसभा निर्वाचनमा सहभागी भएको छैन
कुन प्रदेशमा कुन दल अघि ?
प्रदेश १
प्रदेशसभातर्फ ९३ सिट भएको प्रदेश १ मा एमाले १२ सिट जित्दै अग्रस्थानमा छ । ७ सिटमा जित हासिल गरेको कांग्रेस दोस्रो स्थानमा छ । यो प्रदेशमा माओवादी केन्द्रले २ सिट जित्दा एकीकृत समाजवादीले ४ सिट जितेको छ । राप्रपाले भने ३ सिटमा जित हासिल गरेको छ ।
मधेश प्रदेश
१०७ सिट भएको मधेश प्रदेशमा ९ सिटमा जित दर्ता गर्दै कांग्रेसले अग्रता लिएको छ भने ८ सिटमा जित हात पारेको एमाले दोस्रो स्थानमा छ । त्यस्तै, माओवादी केन्द्रले ५ स्थानमा जित निकाल्दा एकीकृत समाजवादीले ३ सिटमा जितेको छ भने राप्रपाले १ सिट जितेको छ ।
बागमती प्रदेश
११० सिट भएको बागमती प्रदेशमा १४ सिटमा जित निकाल्दै कांग्रेस अगाडि छ । १० सिटमा जित पाएको एमाले दोस्रो स्थानमा छ भने माओवादीले ४ सिट मात्रै जितेको छ । त्यस्तै, एकीकृत समाजवादी र राप्रपाले समान ३ सिट जितेका छन् ।
गण्डकी प्रदेश
६० सिट रहेको गण्डकी प्रदेशमा कांग्रेसले ८ सिटसहित अग्रता लिएको छ भने ६ सिटसहित एमाले पछि छ । माओवादी केन्द्रले १ सिट जित्दा राप्रपा र समाजवादीले खाता खोलेका छैनन् ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा ४ सिटसहित एमालेले अग्रता लिँदा ३ सिटसहित कांग्रेस दोस्रो स्थानमा छ । माओवादी केन्द्र र राप्रपाले समान १ सिट जित्दा एकीकृत समाजवादीले खातासमेत खोलेको छैन ।
कर्णाली प्रदेश
४० सिट रहेको कर्णाली प्रदेशमा ४ सिटसहित कांग्रेसले अग्रता लिँदा एमालेले १ सिट मात्रै जितेको छ । माओवादी केन्द्रले ३ सिट हात पार्दै दोस्रो रहँदा एकीकृत समाजवादीले र राप्रपाले खाता खोलेका छैनन् ।
सुदूरपश्चिम प्रदेश
\५३ सिट रहेको सुदूरपश्चिम प्रदेशमा १२ सिटसहित एमाले अगाडि रहँदा ७ सिटसहित कांग्रेसले पछ्याइरहेको छ। माओवादी केन्द्रले २ सिट जित्दा एकीकृत समाजवादीले ४ सिट हात पारेको छ । राप्रपाले भने ३ सिटमा जित हात पारेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।