आमनिर्वाचन : प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि

Share News

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले ९ र नेकपा (एमाले)ले ३ स्थानमा विजय हासिल गरेका छन् ।

बुधबार बिहान ४ बजेसम्मको मत परिणाम अनुसार कांग्रेसले प्रतिनिधिसभा सदस्यतर्फ मुस्ताङ–१, मनाङ–१, काठमाडौं–१, ३, ४ र ५, रसुवा–१, तनहुँ–२ र ललितपुर–१ मा विजय हासिल गरेको छ । मुस्ताङ–१ मा योगेश गौचन थकाली, मनाङ–१ मा टेकबहादुर गुरुङ, काठमाडौं–१ मा प्रकाशमान सिंह, काठमाडौं–३ मा सन्तोष चालिसे, काठमाडौं–४ मा गगनकुमार थापा, काठमाडौं–५ मा प्रदीप पौडेल, रसुवा–१ मा मोहन आचार्य र ललितपुर–१ मा उदयशम्शेर जबरा तथा तनहुँ–२ मा शंकर भण्डारी विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा ललितपुर–२ मा प्रेमबहादुर महर्जन, काठमाडौं–९ मा कृष्णगोपाल श्रेष्ठ र उदयपुर–२ मा अम्बरबहादुर रायमाझी विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीले पनि जितको खाता खोलेको छ । सो पार्टीका गंगाराम चौधरी कैलाली–३ बाट निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले अग्रता लिँदा समानुपातिकतर्फ भने एमाले अगाडि छ । बुधवार बिहान ४ बजेसम्मको मतपरिणाम अनुसार एमालेले १ लाख ८३ हजार ६४४ मतसहित अग्रस्थानमा छ । उसलाई कांग्रेसले १ लाख ६१ हजार १८३ मतसहित पछ्याइरहेको छ ।

समानुपातिकतर्फ तेस्रो स्थानमा छ, राष्ट्रिय स्वतन्त्र पार्टी । उसले ८२ हजार ८८८ मत पाउँदा नेकपा माओवादी केन्द्रले र नेपाल समाजवादी पार्टीले ७६ हजार २१६ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने ४३ हजार ३६२ मत पाएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।