काठमाडौं । ताप्लेजुङ–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका योगेश भट्टराई निर्वाचित भएका छन्। बुधवार सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार उनी ३२८ मतान्तरले विजयी भएका छन् । उनले २१ हजार ९४६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीले २१ हजार ७३८ मत पाएका छन् ।
यी दुई उम्मेदवारबीच शुरुवातीदेखि नै कडा प्रतिस्पर्धा भएपनि अन्तिममा योगेशले बाजी मारेका हुन् । शुरुवाती चरणमा झिनो मतान्तरले पछि परेका योगेश पछि अग्रता लिएका थिए ।
एमाले विभाजन हुनुअघि माधव समूहमा रहेका योगेशलगायतका ‘१० भाइ’ पार्टी विभाजनपछि एमालेमै रहेका थिए । तीमध्ये नेताहरू भीम रावल, घनश्याम भुसाललगायतले टिकट पाएनन् । टिकट नपाएपछि भुसालले पार्टी परित्याग गरी स्वतन्त्रबाट उम्मेदवार बनेका छन् । ‘१० भाइ’मध्येका अर्का नेता गोकर्ण विष्ट पनि गुल्मी–२ बाट सांसदमा निर्वाचित भइसकेका छन् । विष्टले एमालेकी पूर्वनेत्री एवं नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई पराजित गरेका हुन् ।
एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा लाग्ने नेता निर्वाचनमा पराजित हुँदा योगेश र गोकर्ण भने ‘भाग्यमानी’ ठहरिएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।