काठमाडौं । फिफाको वरियताको पहिलो स्थानमा रहेको ब्राजिल र २१ औं स्थानमा भएको सर्बिया कतार विश्वकप २०२२ को समूह चरणको खेलमा बिहीवार राति आमनेसामने हुँदैछन् । चार वर्ष अघिको विश्वकपको समूह चरणको खेलमा पनि यिनीहरुको भेट भएको थियो । चार वर्षमा दुबै टोलीमा धेरै कुरा फेरिएको छ ।
२०१८ को संस्करणको समूह चरणमा ब्राजिलले सर्बियालाई २–० ले हराएको थियो । दुबै गोल ब्राजिलको राष्ट्रिय टोलीका लागि चार वर्षसम्म नखेलेको पलिन्होले गरेका थिए । सो प्रतियोगिताको क्वाटरफाइनलमा ब्राजिलको मिडफिल्डलाई बेल्जियमले धुलो चटाइदियो । अहिलेको विश्वकपसम्म आइपुग्दा ब्राजिलको मिडफिल्ड निकै बलियो बनेको छ ।
कतारमा आफ्नो विश्वकप डेब्यू गर्न लागेका फाबिन्हो, ब्रुनो गुइमाराएस र लुकास पकेटालाई ल्याएर कोच टिटेले मिडफिल्डमा उत्कृष्ट सन्तुलन बनाएका छन् । २०१४ मा आयोजक भएर पनि ब्राजिलले उपाधी चुम्न सकेन । सेमी फाइनलमा जर्मनीसँग ७–१ को फराकिलो अन्तरको हारको शरमले अझैं पनि समूह थिचिएको छ । तर यस पटक टोलीमा स्पष्ट रुपमा उत्साहित देखिएको छ ।
आक्रमण कलाको साहारामा विपक्षीलाई धुलो चटाउने आशा ब्राजिल समर्थकहरुले गरेका छन् । टोलीमा स्टार खेलाडी नेमार पनि त छन् । ग्याब्रियल जिसस र ग्याब्रियल मार्टिनेल्ली पनि राम्रा अस्त्र हुन् । भिनिसियस जुनियर र रोद्रिगो पनि छन् । यसमा राफिन्हा, एन्टोनी र रिचार्लिसनले ब्राजिललाई यो प्रतियोगिताको मजबूत मध्येको एउटा टोली बनाएका छन् । विश्वकपको क्वालिफाइङ खेलमा ब्राजिलले ४५ गोल गरेको छ । क्वालिफाइङ चरणमा ब्राजिलले ४ गोल मात्रै खाएको छ ।
तर सर्बियालाई पनि कम आक्न भने मिल्दैन । ब्राजिल जस्तै गरी सबिर्या पनि गएको विश्वकपयता निकै फेरिएको छ । २०१८ को विश्वकप सर्बियाको दोस्रो विश्वकप थियो । विश्व जगतमा खेलेका युवा अनि अनुभवी खेलाडीहरु हुँदा हुँदै पनि सबिर्या रुसमा भएको विश्वकपबाट समूह चरणभन्दा माथि जान सकेन । तर अहिले टोलीमा त्यति बेलाको भन्दा राम्रा खेलाडीहरु छन् ।
त्यति बेलाका बुढा खेलाडीहरु सेवा निवृत्त भएका छन् । अघिल्लो विश्वकपका युवा खेलाडीहरु खारिएका छन् । गएको वर्ष इंगलिश प्रिमियर लिगमा अलेक्जान्डर मिट्रोभिकले सर्वाधिक गोलकर्ताको रेकर्ड बनाएका छन् । उनी अहिले इंगलिश प्रिमियर लिगका सबैभन्दा खतरा खेलाडी भएर निस्किएका छन् । फिलिप कोष्टिक पनि कम छैनन् ।
लाओजिओका खेलाडी सेर्गेज मिलिनकोभिक–साभिक सिरि ए मा उत्कृष्ट मिडफिल्डर मध्ये एक साबित भएका छन् । सर्भियाका कप्तान डुसान टोडिक र स्ट्राइकर डुसान भ्लाहोभिकले सर्बियाको टोलीलाई थप बलियो बनाएका छन् । आठ खेलमा १८ गोल गरेर क्वालिफाइङ चरणमा सर्बियाले पोर्चुगललाई पनि उछिनेको थियो । सर्बिया र ब्राजिल दुबै आक्रामक खेल्ने टोली हुन् । गएको ५ खेलमा ब्राजिलले १८ गोल गरेको छ । सर्बियाले ५ खेलमा १४ गोल गर्दा चार ओटा जितेको छ ।
हरेक २०/२० वर्षमा ब्राजिल विश्वकपमा लयमा फर्किएको इतिहास छ । सबैभन्दा धेरै पाँच पटक विश्वकपको उपाधी उचालेको ब्राजिल यस पटक छैठौं उपाधी चुम्ने दाउमा छ । २००२ यता ब्राजिलले यसको अवसर पाएको छैन । रोनाल्डोले १९९८ को अन्तिममा हारेको पीडा ८ गोल हानेर मेटाएका थिए ।
ब्राजिलले १९६२ को विश्वकप जितेको थियो । १९८२ मा राम्रो खेलेर पनि उसले उपाधी चुम्न सकेन । कतार विश्व कपमा बलिया मानिएका अर्जेन्टिना र जर्मनीलाई कमजोर ठानिएका साउदी अरब र जापानले हराएको देख्दा घानाले ब्राजिललाई हरायो भने पनि अचम्भित हुनु पर्दैन । ब्राजिलले १९७८ यता समूह चरण हारेको छैन । यो क्रम यस पटक टुङ्गियो भने यो ब्राजिलको लागि नयाँ इतिहास हुनेछ । एजेन्सीहरुको सहयोगमा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।