अर्जेन्टिना, जर्मनी र पोर्चुगलको खेलका ३ संयोग : धन्न घानाले दोस्रो गोल गरेर अग्रता लिएन...

Share News

काठमाडौं । कतार विश्वकपमा शुरुवाती ४  खेलको नतिजा स्वभाविकै लागेको थियो । पहिलो खेलमा आयोजक कतार इक्वेडरसँग २-० गोल अन्तरले पराजित भयो । भलै त्यो विश्वकपको इतिहासमा पहिलोपटक आयोजक देश उद्घाटन खेलमा हारेको थियो ।

दोस्रो खेलमा इगल्याण्डले इरानलाई ६-२ गोलले पराजित गर्‍यो । एउटै खेलमा ८ गोल भएपनि यो नतिजालाई समेत फुटबल समर्थकले अप्रत्याशित मानेनन् । पाँचौ वरियतामा रहेको इगल्याण्डले २० औं वरियतामा रहेको इरानलाई सहजै हराउने अनुमान गरिएको थियो ।

तेस्रो खेलमा नेदरल्याण्डले सेनेगललाई २-० ले पराजित गर्‍यो । यो पनि प्रत्याशित नतिजा नै थियो ।

तर चौथो खेलमा आएपछि भने कतार विश्वकपमा अप्रत्याशित नतिजा आयो । जब, कतारको छिमेकी मुलुक साउदी अरबले उत्तर अमेरिकी च्याम्पियन अर्जेन्टिनालाई पराजित गर्‍यो । विश्व वरियतामा तेस्रो स्थानमा रहेको देशलाई ५१ औं वरियतामा रहेको साउदी अरबले पराजित गर्दा विश्वका फुटबल समर्थकहरू स्तब्ध भए ।

यो नियती जर्मनीले पनि भोग्यो, ४ पटकको विश्वकप विजेता जर्मनी जब एशियाली मुलुक जापानसँग पराजित भयो ।

बिहीवार राती पोर्चुगल र घानाबीच खेल हुँदा ३ ओटा संयोग मिलेका थिए । त्यसपछि विश्वका फुटबल समर्थकहरूमा एउटा तरङ्ग आइहाल्यो, कतै पोर्चुगलले पनि अर्जेन्टिना र जर्मनीको जस्तै नियती त भोग्नु पर्दैन ? त्यो नियती पोर्चुगलले पनि भोग्न सक्थ्यो ।नवौं वरियतामा रहेको पोर्चुगल र ६१ औं वरियतामारहेको घानाको खेलमा पनि ५  मिनेटभित्र दुई गोल भएका थिए । यदि त्यो एउटा गोल पोर्चुगलले नगरेर घानाले गरेको हुन्थ्यो भने यहाँ अर्जेन्टिना र जर्मनीको नियती दोहोरिन सक्थ्यो । धन्न घानाले तत्काल दोस्रो गोल गरेर अग्रता लिएन ।

के हुन् ३ संयोग ?
पहिलो संयोग

अर्जेन्टिना, जर्मनी र पोर्चुगलको खेलका ३ संयोग मध्ये पहिलो त पेनाल्टी नै हो । 

अर्जेन्टिना र साउदीअरब बीचको खेलमा १० औं मिनेटमा विश्वकपको दाबेदार मानिएको अर्जेन्टिनाले पेनाल्टी पाउँछ । गोलरहित बराबरीमा चलिरहेको खेलमा अर्जेन्टिनाको लागि लियोनेल मेस्सीले गोल गर्छन् । उनले व्यक्तिगत रुपमा अर्जेन्टिनाको तर्फबाट लगातार ४ विश्वकपमा गोल गर्ने पहिलो अर्जेन्टिनी खेलाडीको रेकर्ड बनाउँछन् ।

तर खेलको ४८ र ५३ औं मिनेटमा ५ मिनेटको अन्तरमा २ गोल गर्दै खेलमा साउदी अरबले अग्रता लिन्छ । अर्जेन्टिनाका खेलाडीले गरेका केही गोल अफसाइड हुन्छन् । अन्तमा साउदीअरबले अर्जेन्टिनालाई पराजित गर्छ ।

दोस्रो संयोग
पेनाल्टीमा गोल गरेपछि विश्वकप दाबेदार देशले थप गोल गर्न नसक्ने दोस्रो संयोग हो । अनि कमजोर मानिएका देशले विश्वकप दाबेदारविरुद्ध गोल फर्काउँछन् ।

जर्मनी र जापानको खेलमा पनि यहि हुन्छ ।विश्व वरियतामा ११ औं स्थानमा रहेको जर्मनीले ३३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेर अग्रता लिन्छ । जर्मनीको लागि गुन्डोगनले पेनाल्टीमा गोल गर्छन् । त्यसपछि जर्मनीले गोल गर्न सक्दैन । खेलको ७५ औं मिनेटमा विश्व वरियतामा २४ औं स्थानमा रहेको जापानले गोल फर्काउँछ । त्यसपछि ८३ औं मिनेटमा जापानले दोस्रो गोल गर्छ । जसरी अर्जेन्टिना विरुद्ध साउदी अरबले ५ मिनेटको अन्तरमा २ गोल गरेको थियो त्यसै गरि जर्मनी विरुद्ध जापानले ८ मिनेटको अन्तरमा २ गोल गर्छ र खेल जापानले २-१ गोल अन्तरले जित्छ ।

तेस्रो संयोग
कमजोर मानिएका टिमले काउन्टर अट्याकमा गोल गर्नु तेस्रो संयोग हो । अर्जेन्टिना विरुद्ध साउदी अरबले फर्काएको पहिलो गोल काउन्टर अट्याकमै सम्भव भएको थियो । जर्मनी विरुद्ध जापानले गरेको पहिलो गोल पनि काउन्टर अट्याकमै सम्भव भएको थियो । विश्वकप दाबेदार देशले पहिलो गोल गर्न पेनाल्टीको सहारा लिइरहेका बेला कमजोर भनिएका  देशले भने बलिया देशविरुद्ध काउन्टर अट्याकमै गोल गरेका थिए ।

त्यस्तै संयोग पोर्चुगल र घानाको खेलमा पनि भयो । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले खेलको ६४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेर विश्व रेकर्ड कायम गर्छन् ।  उनले लगातार ५  विश्वकपमा गोल गर्ने विश्वकै एक्लो खेलाडीको रेकर्ड बनाउँछन् ।

तर त्यसको ८ मिनेटपछि खेलको ७२ औं मिनेटमा नै घानाले काउन्टर अट्याकमा गोल गर्छ र खेल बराबरीमा ल्याउँछ ।

अर्जेन्टिना विरुद्ध साउदी अरब, जर्मनी विरुद्ध जापान र पोचर्चुगल विरुद्ध घानाको खेलमा यहाँसम्म ३ ओटा संयोग मिलिसकेका थिए ।

अनि फुटबल समर्थहरूमा फेरि अर्जेन्टिना र जर्मनी कै जसरी पोर्चुगल पनि पराजित हुन्छ की भन्ने सनसनी फैलियो । जसरी साउदी अरबले ५ मिनेटमा २ गोल गरेको थियो, जसरी जापानले ८ मिनेट भित्र २ गोल गरेको थियो त्यसै गरी घानाले पनि ५ देखि ८ मिनेट भित्र दोस्रो गोल गरेको भए पोर्चुगलको पनि त्यहि नियती हुँदैन भन्न सकिन्थेन ।

घानाले गोल फर्काएको ५ मिनेट पछि अर्थात खेलको ७७ औं मिनेटमा गोल पनि हुन्छ । तर, त्यो गोल घानाले नभइ पोर्चुगलले गर्छ । यहि नै खेलको टर्निङ पोइन्ट बन्छ । र खेल पोर्चुगलले जित्छ ।

पोर्चुगलले २ मिनेटभित्र २ गोल गरेपछि खेल ३-१ ले आफ्नो पक्षमा पार्छ । ७७ र ७९ औं मिनेटमा पोर्चुगलका खेलाडीले गोल गर्छन् । निर्धारित ९० मिनेटसम्म ३-१ ले अघि हुने भएपछि पोर्चुगलले एकै प६क ३ जना खेलाडी परिवर्तन गर्छ । कप्तान क्रिस्टियानो रोनाल्डो सहित ३ खेलाडीले मैदान छोडेपछि भने ८९ औं मिनेटमा घानाले गोल फर्काउँछ । खेल ३-२ मा चलिरहेको बेला म्याच रेफ्रिले ९ मिनेट अतिरिक्त समय थप्ने निर्णय गर्छन् ।

थपिएको अतिरिक्त समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि पोर्चुगलले खेल ३-२ ले जित्छ ।

अर्जेन्टिना, जर्मनी र पोर्चुगलको खेलमा ३ ओटा संयोग मिलेको बेला रोनाल्डो र पोर्चुगलको समर्थन गरिरहेका लाखौ समर्थकले एउटा कुरा धेरै नै मिस गरे । त्यो भनेको - धन्न घानाले ५ मिनेटभित्र दोस्रो गोल गरेर अग्रता लिएन । 

खेलमा घानाले दोस्रो गोल त गर्छ तर, त्यो ढिलो भइसकेको हुन्छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।