काठमाडौं । पाल्पा–२ बाट प्रतिनिधिसभा सदस्यमा जितको ह्याट्रिक गर्ने योजनामा थिए, नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे । नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका उनले माउ पार्टीबाटै पछिल्ला दुई चुनाव जितेका थिए । तर, यो चुनाव उनलाई ‘फाप्ला’जस्ताे देखिएकाे छैन । शुक्रवार बिहान १० बजेसम्मकाे मतपरिणाम अनुसार उनी पूर्वसहकर्मी ठाकुर गैरेसँग साढे ४ हजार मतले पछाडि छन् । गैरेले २५ हजार ८३६ मतसहित अग्रता लिँदा उनी २१ हजार ४८४ मतसहित पछ्याइरहेका छन् ।
उनी अघिल्लो चुनावमा भने १० हजारभन्दा बढी मतान्तरले विजयी भएका थिए। उक्त चुनावमा उनले ३४ हजार ८९९ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिप्रसाद नेपालले २४ हजार ५५४ मत ल्याएका थिए ।
दल अदलबदलपछि चुनाव नजित्ने नेता हुन्, एमाले सचिव लेखराज भट्ट । नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका उनी यो चुनावमा कैलाली–४ बाट नेपाली कांग्रेसका वीरबहादुर बलायरसँग ३ हजार ५८४ मतान्तरले पराजित भए । उनले २२ हजार ५८७ मत पाउँदा बलायरले २६ हजार १७१ मत ल्याए । उनले अघिल्लो चुनाव भने सोही क्षेत्रबाट जितेका थिए ।
दल अदलबदल गरी चुनाव नजित्ने नेताको सूचीमा छन्, एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडा । मकवानपुर–२ बाट चुनाव लडेका उनी आफ्नै पूर्वसहकर्मी एमालेका महेशकुमार बर्ताैलासँग साढे ४ हजारभन्दा बढी मतान्तरले पराजित भए । उनले ३० हजार ३९६ मत पाउँदा बर्ताैलाले ३४ हजार ९१६ मत ल्याए । यसअघिको चुनावमा एमालेबाट चुनाव लडेका खतिवडाले नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)लाई १६ हजारभन्दा बढीको मतान्तरले पराजित गरेका थिए ।
यो सूचीमा एमाले नेता गौरीशंकर चौधरीको पनि नाम आउँछ । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका उनी यो चुनावमा कैलाली–३ बाट जित्न त परै जाओस्, दोस्रोसम्म हुन सकेनन् । उक्त क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले २३ हजार १२० मत ल्याएर चुनाव जिते । दोस्रो रहेका नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाउँदा उनले ९ हजार ८७४ मत ल्याए ।
उनले २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका थिए । उक्त निर्वाचनमा उनले कांग्रेस उम्मेदवार रामजनम चौधरीलाई पराजित गरेका थिए ।
दल अदलबदल गरी चुनाव नजित्ने नेतामा पर्छन्, एकीकृत समाजवादीका कृष्णलाल महर्जन । ललितपुर–२ बाट चुनाव लगेका उनी आफ्नै पूर्वसहकर्मी एमालेका प्रेमबहादुर महर्जनसँग पराजित भए । प्रेमबहादुरले १५ हजार २५ मत पाउँदा उनले ८ हजार २६४ मत पाए । अघिल्लो चुनावमा एमालेबाट चुनाव लडेका उनले कांग्रेसका चन्द्र महर्जनलाई पराजित गरेका थिए ।
यो सूचीमा एकीकृत समाजवादीका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको पनि नाम आउँछ । एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका उनले जित कायम राख्न सकेनन् । अघिल्लो चुनावमा काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले यो चुनावमा ‘नराम्रो’ पराजय भोग्नुपर्याे । सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी बने । दोस्रो बनेका हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाउँदा मन्त्री श्रेष्ठले ४ हजार २६६ मत मात्रै पाए ।
दल अदलबदलपछि चुनाव नजित्ने मामिलामा यी नेता ‘अभागी’ मानिन्छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।