काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङ–६ बाट सांसदमा निर्वाचित भए, नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला । उनले नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितलाई साढे १२ हजारभन्दा बढी मतान्तरले पराजित गरे । उनले ३५ हजार २१८ मत पाउँदा पण्डितले २२ हजार ९३२ मत ल्याए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपति भइसकेका उनी सर्जनसमेत हुन् ।
यो चुनावमा सांसद निर्वाचित हुने उनी एक्ला डाक्टर भने होइनन्, कांग्रेसकै पूर्वमहामन्त्री डा. शेखर कोइराला पनि छन् । नवलपुर–१ बाट प्रतिनिधिसभामा निर्वाचित उनले एमालेका कृष्णप्रसाद पौडेललाई २ हजारभन्दा बढी मतान्तरले पराजित गरे । कोइरालाले २७ हजार ६७ मत पाए भने पौडेलले २५ हजार ४७ मत ल्याए । उनी नेत्र रोग विशेषज्ञ हुन् ।
कोइरालाद्वयपछि चुनाव जित्ने अर्की डाक्टर हुन्, राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की । उनले ललितपुर–३ बाट एमालेका अमृत खड्कालाई १८ हजारभन्दा बढी मतान्तरले पराजित गरिन् । उनले ३१ ह्जार १३६ मत ल्याइन् भने खड्काले १२ हजार ९६३ मत ल्याए । उनले शल्य चिकित्सामा स्नातकोत्तर गरेकी छन् ।
यो निर्वाचनमा डाक्टरले जित हासिल गर्दा ‘धामी’, ‘झाँक्री’ भने पराजित भएका छन् । गुल्मी–२ बाट एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पूर्वसहकर्मी एमाले उम्मेदवार गोकर्ण विष्टसँग २ हजारभन्दा बढी मतले पराजित भइन् । उनले २६ हजार ४४१ मत ल्याइन् भने विष्टले २८ हजार ४७६ मत पाए ।
कञ्चनपुर–२ बाट पराजित हुने उम्मेदवार हुन्, एमाले उम्मेदवार नरबहादुर धामी । उनी कांग्रेस उम्मेदवार एनपी साउदसँग झण्डै साढे ६ हजार मतान्तरले पराजित भए । उनले २१ हजार ६४५ मत पाए भने साउँदले २८ हजार १०० मत ल्याए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।