वर्तमान सरकारका प्रधानमन्त्रीसहित ६ जना मन्त्री निर्वाचित, ६ जना नै पराजित

Share News

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ प्रधानमन्त्रीसहित वर्तमान सरकारका छ मन्त्री निर्वाचित भएका छन् । निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म ६ जना मन्त्री पराजित भएका छन् २ जना मन्त्री उम्मेदवार रहेको स्थानमा मतगणना जारी छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा क्षेत्र नं १ बाट १२ हजार चार सय ३२ मतान्तरसहित विजयी हुनुभएको छ । उहाँले २५ हजार पाँच सय ३४ मत प्राप्त गर्नुभएको छ । निकटम् प्रतिद्वन्द्वी स्वन्तन्त्र उम्मेदवार सागर ढकालले १२ हजार ४२ मत प्राप्त गरे । 

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछाम निर्वाचन क्षेत्र नं १ बाट १९ हजार पाँच सय ३४ मतसहित विजयी भए । उनले एमालेका झपट बोहोरालाई चार हजार चार सय ८९ मतान्तरले पराजित गरे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू २८ हजार पाँच सय १५ मतसहित दार्चुला क्षेत्र नं १ बाट विजयी हुनुभएको छ । उहाँका निकटम् प्रतिद्वन्द्वी एमालेका गणेशसिंह ठगुन्नाले २६ हजार तीन सय ८१ मत प्राप्त गर्नुभयो । 

अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिम क्षेत्र नं १ बाट निर्वाचित भएका छन् । उनले ३९ हजार पाँच सय ४९ मत प्राप्त गरे । शहरी विकास मन्त्री मेटमणि चौधरी दाङ निर्वाचन क्षेत्र नं १ बाट पाँच हजार ८३ मतान्तरसहित विजयी भएका छन् । उनले एमालेका शान्ता चौधरीलाई पराजित गरे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बागलुङ २ बाट २४ हजार सात सय ७९ मतसहित विजयी भएका छन् ।

गत आइतवार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फको मतगणना केही स्थानमा अझै जारी छ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले उदयपुर क्षेत्र नं १ मा १४ हजार दुई सय ४१ मतसहित अग्रता लिएका छन् । सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले अगाडि छन् । 

यसपटकको निर्वाचनमा ६ जना मन्त्रीले पराजय बेहोर्नु परेको छ । गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, युवा तथा खेलकूद मन्त्री महेश्वरराज गहतराज, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ निर्वाचनमा पराजित भएका छन् । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।