काठमाडौं । हालसम्म विकास बैंकमध्ये तीन ओटाले मात्र गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले गत आवको सञ्चित मुनाफाबाट शेयरधनीलाई चुक्तापूँजीको १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७० प्रतिशत नगद (कर प्रयोजनको लागि) लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ९३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसरी हेर्दा कम्पनीले गत वर्षभन्दा यस वर्ष लाभांश दर बढाएको छ ।
त्यसैगरी लुम्बिनी विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापूँजीको ९ प्रतिशत नगद लाभांश (करसहित) र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले गत वर्ष शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले गत वर्षभन्दा यस वर्ष नगद लाभांशमा जोड दिएको छ ।
त्यस्तै गरिमा विकास बैंकले चुक्तापूँजीको १४ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस वर्ष कम्पनीले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ५० प्रतिशत नगद लाभांश गरी कुल १४ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यस कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई गत वर्ष १६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
यसरी हेर्दा विकास बैंकको लाभांश दर गत वर्षभन्दा यस वर्ष घटेको छ । यी तीन ओटै कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीहरूको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । हाल नेप्सेमा १६ विकास बैंकको कारोबार हुँदै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।