काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत आइतवार पहिलो खेलमा जापान र कोस्टारिका भिड्दैछन् ।
समुह ‘ई’ अन्तर्गत समूह चरणको दोस्रो खेल खेलीरहेका यी दुई टोलीमा जापान बलियो देखिन्छ । पहिलो खेलमा जापानले ४ पटकको विश्वकप विजेता जर्मनीलाई पराजित गरेको थियो भने कोस्टारिका स्पेनको हातबाट ७-० ले पराजित भएको थियो ।
इतिहास हेर्दा पनि जापानको पक्षमा देखिन्छ । अहिलेसम्म विश्वकपमा २ पटक आमनेसामने हुँदा दुवै खेल जापानले फराकिलो गोल अन्तरमा जितेको छ ।
जापानले कोस्टारिकालाई २०१४ को विश्वकपमा ३-० ले पराजित गरेको थियो भने २०१८ को विश्वकपमा पनि ३-१ गोल अन्तरले पराजित गरेको थियो ।
कोस्टारिकाले खेलेका पछिल्ला ५ खेलमा ३ जीत, १ हार र १ बराबरी खेलेको थियो । जापानले पनि ३ जित १ हार र १ बराबरीको नतिजा निकालेको थियो । तर जापानले जितेका देश विश्व वरियतामा निकै अघि रहेका देश हुन् भने कोस्टारिकाले वरियतामा पुछारमा रहेका देशमाथि जित हात पारेको छ ।
पछिल्ला केही विश्वकपमा जापान अन्तिम १६ मा पुग्दै आएको छ । २०१८ को विश्वकपमा अन्तिम १६ मा बेल्जियमसँग ३-२ ले पराजित भएर विश्वकपबाट बाहिरिनु अघि जापानले समूह चरणमा कोलम्बियालाई पराजित गरेको थियो भने सेनेगलसँग बराबरी खेलेको थियो । २०१० को विश्वकपमा अन्तिम १६ मा पराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित भएर विश्वकपबाट बाहिरिएको थियो । २००२ को विश्वकपमा समेत जापान अन्तिम १६ मा पुगेको थियो ।
जापानको विश्वकपमा उत्कृष्ट प्रदर्शन नै अन्तिम १६ सम्म पुग्नु हो । कोस्टारिका भने २०१४ को विश्वकपमा क्वाटर फाइनलसम्म पुगेको छ । यो नै उसको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।