काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकपमा आज सोमवार ३ ओटा खेल हुँदैछन् । आज समूह ‘जी’ का २ र समूह ‘एच’ का १ गरी ३ खेल हुँदैछन् ।
पहिलो खेलमा समूह ‘जी’ अन्तर्गत क्यामरुन र सर्बिया भिड्दैछन् । उक्त खेल नेपाली समय अनुसार ३:४५ मा शुरु हुनेछ । आफ्नो पहिलो खेलमा पराजित यी दुवै टोली आजको खेल जितेर दोस्रो चरण पुग्ने दाउमा रहनेछन् ।
जारी विश्वकपको आफ्नो पहिलो खेलमा सर्बिया ब्राजिलसँग ०–२ ले स्तब्ध भएको थियो । क्यामरुन भने स्वीट्जरल्यान्डसँग ०–१ ले पराजित भएको थियो ।
यो समूहको अंकतालिकामा ब्राजिल ३ अंकसहित शीर्ष स्थानमा छ भने समान अंक पाएको स्वीट्जरल्यान्ड दोस्रो स्थानमा छ । यी दुवै टोली गोलअन्तरका आधारमा पहिलो र दोस्रो स्थानमा रहेका छन् ।
दोश्रो खेलमा समूह ‘एच’ मा रहेको दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समय अनुसार ६:४५ मा शुरु हुनेछ । पहिलो खेलमा पराजय भोगेको घाना आज दक्षिण कोरियासँग खाता खोल्ने दाउमा छ । यता कोरिया पनि घानालाई जितेर दोस्रो चरणको यात्रा कायम राख्ने शुरमा देखिन्छ ।
यसअघि घाना पोर्चुगलसँग २–३ गोलअन्तरले पराजित भएको थियो भने दक्षिण कोरिया र उरुग्वेले १–१ गोलको बराबरी खेलेका थिए ।
यो समूहमा पोर्चुगल ३ अंकसहित शीर्षमा रहँदा दक्षिण कोरिया र उरुग्वे समान १ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अंकविहीन रहेको घाना भने समूहको पुछारमा छ ।
तेश्रो खेलमा समूह ‘जी’ को ब्राजिल र स्विट्जरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार राति ९:४५ मा शुरु हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।