काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकपमा बुधवार (आज) २ ओटा खेल हुँदैछन् । जारी विश्वकपकाे समूह चरणअन्तर्गत ट्युनिसियाले फ्रान्सको सामना गर्दैछ भने अस्ट्रेलिया र डेनमार्क पनि प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ का दुवै खेल आज राति ८ः४५ बजे हुँदैछन् ।
फ्रान्सलाई रोक्न सक्ला ट्युनिसिया ?
अंकतालिकामा पुछारमा रहेको ट्युनिसिया फ्रान्सलाई राेकेर दोस्रो चरणको सम्भावना कायमै राख्ने प्रयासमा रहनेछ । तर, उसलाई शीर्ष स्थानको फ्रान्समाथि जित निकाल्न त्यति सहज देखिदैन । फ्रान्स प्रतियोगिताको दाबेदार टोली हो ।
जारी प्रतियोगिताको अंकतालिकामा फ्रान्स ६ अंकसहित समूह ‘डी’को शीर्ष स्थानमा छ । समूहमा दोस्रो स्थानमा रहेको अस्ट्रेलियाको ३ अंक छ । उक्त समूहमा तेस्रो र चौथो स्थानमा क्रमशः डेनमार्क र ट्युनिसिया छन् । दुवै टोलीको समान १ अंक मात्रै छ ।
अस्ट्रेलियाको नकआउट यात्रामा बाधक बन्ला डेनमार्क ?
अस्ट्रेलिया पनि आजकाे खेल जितेर दोस्रो चरणमा पुग्ने दाउमा छ । डेनमार्ककाे पनि यही प्रयास रहनेछ । दुवै टोली आजकाे खेल जित्न शतप्रतिशत प्रयास लगाउने छन् ।
खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ । खेल बराबरी भएमा भने अस्ट्रेलिया नकआउट चरणमा पुग्नेछ । ट्युनिसियाले फ्रान्समाथि फराकिलो गोलअन्तरमा जित हासिल गरेको अवस्थामा अस्ट्रेलियाको दोस्रो चरण पुग्ने यात्रामा पूर्णविराम लाग्न सक्छ । तर, ट्युनिसियालाई फ्रान्समाथि फराकिलो गोलअन्तरमा जित हासिल सहज छैन ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।