नकआउटमा पुग्ला अर्जेन्टिना ? यस्तो छ अंकतालिका र हेड टु हेड नतिजा

Share News

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणका खेल अन्तिम चरणमा छन् । समूह ‘ए’ र ‘बी’ बाट दोस्रो चरण पुग्ने टोलीको टुंगो लागिसकेको छ । समूह ‘ए’ बाट इंग्ल्याण्ड र संयुक्त राज्य अमेरिका र समूह ‘बी’ बाट नेदरल्याण्ड र सेनेगल प्रि–क्वाटरफाइनल पुगिसकेका छन् । बाँकी समूहका टोलीको टुंगो लाग्ने क्रममा छ । 

यस्तोमा समूह ‘सी’मा रहेको अर्जेन्टिनाको आगामी यात्राको निर्धारण भोलि हुँदैछ । बिहीवार (भोलि) बिहान १२ः४५ बजे शुरु हुने पोल्याण्डविरुद्ध खेलले अर्जेन्टिनाको विश्वकप यात्राको टुंगो लगाउनेछ । यस्तोमा अर्जेन्टिनाको दोस्रो चरणको यात्रा के होला ? अर्जेन्टिनी समर्थकका लागि चासोको विषय बनेको छ । अर्जेन्टिना दोस्रो चरणमा पुग्ला कि नपुग्ला त ? यसका लागि अंकतालिकाको विश्लेषण गरौं ।  

यस्तो छ अंकतालिका

समूह ‘सी’ को अंकतालिकामा पोल्याण्ड शीर्ष स्थानमा छ । उसले समूह चरणमा १ मा जित र १ मा बराबरी खेल्दै ४ अंक जोडेको छ । अंकतालिकामा दोस्रो स्थानमा छ अर्जेन्टिना । जारी विश्वकपको समूह चरणमा १ मा जित र १  हार भोगेको अर्जेन्टिनाको ३ अंक छ । 

समान अंक हासिल गरेको साउदी अरेयिबा अंकतालिकामा तेस्रो स्थानमा छ भने १ अंक मात्रै हासिल गरेको मेक्सिको समूहको पुछारमा छ । यी सबै टोलीले समूह चरणका २–२ खेल खेलिसकेका छन् । 

अब समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र पोल्याण्ड प्रतिस्पर्धा गर्दा साउदी अरब र मेक्सिको भिड्दैछन् । 

यसरी पुग्न सक्छ अर्जेन्टिना नकआउटमा 

अब अर्जेन्टिना दोस्रो चरणमा पुग्ने सम्भावनाको चर्चा गरौं । यसमा दुई ओटा सम्भावना छन् । पहिलो– पोल्याण्डलाई हराएर । समूह चरणमा अपराजित पोल्याण्डलाई हराउन सके अर्जेन्टिना ६ अंकसहित नकआउटमा छानिनेछ । यो अवस्थामा नकआउट पुग्ने अर्को टोलीकाे टुंगो भने मेक्सिकाे र साउदी अरबकाे खेलकाे नतिजाले निर्धारण गर्नेछ । तर, पोल्याण्डलाई हराउन अर्जेन्टिनालाई त्यति सहज छैन ।

दोस्रो– पोल्याण्डविरुद्ध बराबरी गरेर । पोल्याण्डविरुद्धको खेल बराबरी गर्दा पनि अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा पुग्न सक्छ । तर, यसका लागि मेक्सिकोले साउदी अरबलाई बढीमा २ गोलको अन्तरले साउदी अरबलाई हराउनुपर्नेछ ।

यो अवस्थामा पोल्याण्डको ५, अर्जेन्टिना र मेक्सिकोको ४–४ र साउदी अरबको ३ अंक हुनेछ । पोल्याण्ड शीर्ष स्थानमा रहँदै नकआउटमा छानिँदा अर्जेन्टिना गोलअन्तरका आधारमा अगाडि रहँदै प्रि–क्वाटरफाइनलका लागि छानिनेछ । अहिले अर्जेन्टिनाको गोलअन्तर १ छ भने मेक्सिकोको गोलअन्तर –२ छ । तर, मेक्सिकोले साउदी अरबमाथि २ गोलभन्दा बढी अन्तरले जित निकाले अर्जेन्टिना विश्वकपबाट बाहिरिनेछ । 

अर्जेन्टिनाले पोल्याण्डविरुद्धको खेल बराबरी गरेको अवस्थामा मेक्सिको र साउदी अरबको खेल पनि बराबरी भए अर्जेन्टिना दोस्रो चरण पुग्न सक्छ । यो अवस्थामा पोल्याण्डको ५, अर्जेन्टिना र साउदी अरबको ४–४ र मेक्सिकोको २ अंक हुनेछ । पोल्याण्ड शीर्ष स्थानमा रहँदै नकआउटमा छानिँदा अर्जेन्टिना गोलअन्तरका आधारमा अगाडि रहँदै प्रि–क्वाटरफाइनलका लागि छानिनेछ । अहिले अर्जेन्टिनाको गोलअन्तर १ छ भने साउदी अरबको गोलअन्तर –१ छ । साउदी अरब र मेक्सिकोको खेल बराबरी हुँदा साउदी अरबको गोलअन्तर –१ नै रहनेछ । 

हेड टु हेड नतिजा के छ ? 

यी दुई टोलीबीचको हेड टु हेड नतिजामा अर्जेन्टिना अघि देखिएको छ । दुवै टोलीबीच भएका ११ खेलमध्ये अर्जेन्टिनाले ६ खेल जितेको छ भने ३ खेलमा पोल्याण्ड विजयी भएको छ । २ खेल भने बराबरीमा टुंगिएका छन् । 

हेड टु हेडमा अर्जेन्टिना अघि र अंकतालिकामा पोल्याण्ड अगाडि देखिएकाले यी दुई टोलीबीचको खेल ‘काँटेका टक्कर’ हुने देखिएको छ । यस्तोमा कुन टोलीले खेल जित्ला भन्ने अनुमान गर्न गाह्रो छ । यस्तोमा जुन टोलीले राम्रो खेल्छ, उसैले खेल जित्नेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।